बन्दाबन्दीका कारण रोजगारी गुमाएका बेरोजगार युवालाई कामको अवसर

जेठ २४, काठमाडै पाल्पाको रामपुर नगरपालिकाले बन्दाबन्दीका कारण रोजगारी गुमाएका एक सय जनालाई रोजगारी दिएको छ ।

नगरभित्रका सडक किनारामा पक्की नाली निर्माण तथा सडक कालोपत्र र मर्मतसम्भारलगायत काममा उनीहरुलाई रोजगारी दिएको हो ।

रामपुरको मुख्य बजार बेझाड क्षेत्रमा करिब ७१८ मिटर पक्की नाली निर्माण तथा ११० मिटर कालोपत्र सडक मर्मतको काम भइरहेको छ । बन्दाबन्दीले काम नपाएर घरमै बेरोजगार बसेका युवा अहिले काम गर्ने अवसर पाएपछि खुशी छन् ।

कोरनाको विषम परिस्थितिमा काम नपाएर बसेका युवालाई यसरी विभिन्न योजना सञ्चालन गरी स्थानीय सरकारले काम दिएमा फुर्सदको समय सदुपयोगसँगै कमाइ गर्ने माध्यम बन्ने गरेको स्थानीयवासी सागर रेग्मीले बताए । उनले भने, “लामो समयदेखि बन्दाबन्दी हुँदा घरखर्च चलाउन गाह्रो भएका अतिविपन्नलाई नगरपालिकाले रोजगारीको अवसर प्रदान गरेपछि यसमा आबद्ध भएका मजदुर खुशी भएका छन् ।”

गत जेठ १३ गतेदेखि शुरु गरिएको काम असार ८ गतेभित्र सम्पन्न गर्ने योजनाअनुसार नै निर्माण तथा मर्मतकार्यलाई तीव्रगतिमा अगाडि बढाइएको छ । हालसम्म करिब ४० प्रतिशत काम सम्पन्न भइसकेको छ । सडक रोड बोर्ड नेपालको रु ४८ लाख ५६ हजार ११९ र स्थानीय सरकार रामपुर नगरपालिका र जनसहभागीता गरी ३० प्रतिशत सहयोगमा काम शुरु गरिएको उपभोक्ता समितिका सचिव अशोक श्रेष्ठले जानकारी दिए ।

दुई वर्षअघि रामपुर बेझाड बजार क्षेत्रमा १६३ मिटर पक्की नाली निर्माण काम भइसकेको छ । मनदनआश्रित भवन अगाडि मुख्य नाली, स्याल्यापसहितको काम गरिएको छ । सो योजनाका लागि रामपुर नगरपालिकाले रु ५० लाख बजेट उपलब्ध गराएको थियो । त्यस्तैगरी बेझाड बजारकै राधाकृष्ण मन्दिरको उत्तर क्षेत्रमा पनि प्रदेश सरकारको रु ५० लाख सहयोगमा पक्की नाली निर्माणको काम भइरहेको छ ।

उच्च शिक्षाका लागि आर्थिक सहयोग

पाल्पाको माथागढी गाउँपालिका–३ का वडा सदस्य स्व निलकुमारी ठाडाको छोरीलाई उच्च शिक्षाका लागि गाउँपालिकाले आर्थिक सहयोग गरेको छ । हृदयघात भई २०७६ जेठ १९ गते निधन हुनुभएका ठाडाका छोरी रञ्जिता ठाडालाई उच्च शिक्षा अध्ययनका लागि रु तीन लाख सहयोग गरिएको गाउँपालिकाका अध्यक्ष सन्तोष थापामगरले बताए ।

सामान्य परिवारमा जन्मनुभएकी रञ्जितालाई अभिभावक गुमाए पनि पठनपाठनमा समस्या नहोस् भनी उच्च शिक्षाका लागि आर्थिक सहयोग गरिएको अध्यक्ष मगरले बताए । आफ्नो अध्ययनका लागि आर्थिक सहयोग गरेकोमा पढाइमा थप हौसला मिलेको रञ्जिताले बताए। उनी कसेनीको दिव्यज्योति माविमा अध्ययन गर्दैै आएका छन। स्व ठाडाका एक छोरा र एक छोरी छन् । रासस