लागुऔषध ओसारपसारको आरोपमा एम्बुलेन्स नियन्त्रणमा

जेठ २३, काठमाडौ – प्रहरीले लागुऔषध ओसारपसारको आरोपमा एम्बुलेन्स सहित चालकलाई तुलसीपुर–अमिलिया सडकको दमारगाउँबाट नियन्त्रणमा लिएको छ । गएराति बाँकेबाट तुलसीपुर आउँदै गरेको रा१च ३८९ नंको एम्बुलेन्समा १६ ग्राम ४५० मिलीग्राम ब्राउनसुगर भेटिएपछि आज नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय तुलसीपु्रका प्रहरी निरीक्षक चक्र डमरपालले जानकारी दिए । उनका अनुसार उक्त एम्बुलेन्स तुलसीपुर उद्योग वाणिज्य सङ्घको रहेको छ ।

तुलसीपुरबाटै बिहीबार तुलसीपुर–५ निवासी १७ वर्षीया दीपा थापा र घोराहीको बडहरा निवासी शङ्कर पुन बिरामी भएको भनी बाँके लगेको र त्यसको केही समयपछि उनीहरुलाई नै तुलसीपुर ल्याएको पाइएपछि प्रहरीले आशङ्का गरेर सोधखोज गर्दा ती अवैध पदार्थ भेटिएको हो । उनीहरुसहित एम्बुलेन्स चालक दङ्गीशरण गाउँपालिका–६ श्रीगाउँ निवासी तिलक विकलाई प्रहरीले पक्राउ गरेको छ । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

बबई गाउँपालिकास्थित इलाका प्रहरी कार्यालय खिलतपुरका प्रमुख तथा प्रहरी निरीक्षक मोहनविक्रम केसीमाथि ढुङ्गा प्रहार हुँदा घाइते हुनु भएको छ । उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारी दिए ।

बिहीबार राति गस्तीमा गएको समयमा बबई गाउँपालिका –५ पञ्चकुलेका ४५ वर्षीय चित्रबहादुर डाँगी र उहाँका २७ वर्षीय छोरा हेमराज डाँगीले मादक पदार्थ सेवन गरेर प्रहरीमाथि हातपात तथा ढुङ्गा प्रहार गरेको उनले बताए । प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको जनाएको छ ।रासस