बोर्ड अध्यक्षका लागि भुवन, दयाराम र राजेश थापा सिफारिस

जेठ २१, काठमाडौं – चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले तीन जनाको नाम सिफारिस गरेको छ ।

मन्त्रालयले भुवन केसी, दयाराम दाहाल र राजेश थापाको नाम सिफारिस गरेको मन्त्रालय स्रोतले बताएको छ । गत बिहीबार मन्त्रालयले दरखास्त दिनेमध्ये यी तीन जनाको नाम मन्त्रिपरिषद् अन्तरगत सिफारिस गरेको हो ।

अध्यक्ष पदका लागि भुवन केसी, दयाराम र राजेश थापासँगै भगवतीकुमारी मैनाली, सोहित मानन्धर, अर्जुनकुमार डङ्गोल, राजेन्द्र कुमार उप्रेती, ध्यानबहादुर सुब्बा, परशुराम चौधरी र दीपक श्रेष्ठले आवेदन दिएका थिए ।

१० जनाको आवेदन परेपछि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकी सह–सचिव राधिका अर्यालको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति गठन गरेको थियो । अब बस्ने मन्त्रिपरिषद् बैठकले बोर्ड अध्यक्ष चयन गरिने बताइएको छ ।

गत मङ्सिर २९ गते तत्कालीन बहालवाला अध्यक्ष केशव भट्टराईको निधन भएपछि खाली भएको उक्त पदका लागि मन्त्रालयले आवेदन आह्वान गरेको थियो ।