प्रयोगशालाले स्वाब नलिँदा जिल्लामै थन्कियो

जेठ १७, काठमाडौ – प्रयोगशालाले स्वाब लिन नमान्दा कोरोना परीक्षणका लागि जिल्लामा सङ्कलित २३९ जनाको स्वाबको नमूना जिल्लामै थन्किएको छ ।

धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, कोशी अस्पताल विराटनगर, प्रादेशिक अस्पताल जनकपुर र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँलगायतका प्रयोगशालाले स्वाब लिन नमान्दा जिल्लामै स्वाब थन्किएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

“धरान, विराटनगर, जनकपुर र काठमाडौँले लिन मानेन”, स्वाब सङ्कलनमा खटिएका ल्याब असिस्टेन्ट अमोदानन्द झाले भने, “पठाइएको स्वाब फर्काइदिएपछि २३९ जनाको स्वाब राजविराजमै सुरक्षित राखिएको छ ।” जिल्लामा अहिलेसम्म एक हजार २७९ जनाको स्वाब सङ्कलन गरिएकामा ५५५ जनाको नतिजा आउन बाँकी छ । आज नौ जना थप भएपछि सप्तरीमा सङ्क्रमित हुनेको सङ्ख्या ४२ पुगेको छ ।

राजविराजस्थित राजेदेवी माविबाट बिहीबार सङ्कलन गरिएको १५३, शुक्रबार बोदे बर्साइन र सुरुङ्गाबाट सङ्कलित ५५ र अग्निसाइर कृष्णसवरण गाउँपालिकाबाट सङ्कलित ३१ जनाको स्वाबको परीक्षण हुन सकेको छैन । सबै स्वाब राजविराजस्थित अस्पतालमा राखिएको छ ।

यसैबीच प्रदेश सरकारले उपलब्ध गराएको पिसिआर मेसिनबाट राजविराजमै स्वाब परीक्षण गर्ने तयारी थालिएको छ । मेसिन जडान अन्तिम चरणमा रहेको र गजेन्द्रनारायण सिंह अस्पतालमै कोरोनाको नमूना परीक्षण गर्ने तयारीमा जुटेको अस्पताल प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा चुमनलाल दासले जानकारी दिए ।

परीक्षण गर्दै आएको धरानलगायतका प्रयोगशालामा अत्यधिक चाप बढेकाले राजविराजको स्वाब लिन नमानेपछि र राजविराजको पिसिआर मेशिनमा परीक्षण शुरु हुन नसकेपछि स्वाब सङ्कलन कार्य स्थगित भएको छ ।रासस