तिलोत्तमा र परासीका पत्रकारको कोरोना बीमा

जेठ ८, काठमाडौ-   तिलोत्तमा नगर क्षेत्रमा क्रियाशील पत्रकारका लागि कोरोना बीमा गरिएको छ । नगरपालिकासँगको सहकार्यमा अजोड इन्सुरेन्स कम्पनीसँग मिडिया क्लबमा आबद्ध पत्रकारको बीमा गरिएको क्लवका अध्यक्ष लक्ष्मण पौडेलले जानकारी दिए। पाध्यक्ष बिपी गौतमका अनुसार कोरोना भाइरसको महामारीका बेला पत्रकारले अग्रभागमा रहेर काम गर्ने र संक्रमणको जोखिम हुन सक्ने अवस्थालाई ध्यानमा राखी कोरोना बीमा गरिएकोे हो । बीमा गरिएको १५ दिनपछि कुनै पत्रकारलाई कोरोना संक्रमण भेटिएमा बीमा कम्पनीले रु एक लाख दिने कम्पनीका भैरहवा शाखा प्रवन्धक प्रकाश शर्माले बताए ।

परासी– नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) का पत्रकारको कोरोना बीमा गरिएको छ । नेपाल पत्रकार महासंघ जिल्ला शाखाले सदस्य पत्रकारको कोरोना बीमा गराएको हो । शाखामा आबद्ध ४९ सदस्य पत्रकारलाई प्रतिव्यक्ति रु ५० हजारको बीमा गराइएको अध्यक्ष हरि शर्माले बताए । आबद्ध सदस्यमध्ये केही विदेशमा रहेको र केहीको यसअघि नै भइसकेकाले एक कर्मचारीसहित बाँकी सदस्यको बीमा गरिएको अध्यक्ष शर्माले जानकारी दिए । शाखामा ६३ पत्रकार आवद्ध छन् ।

जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड शाखा कार्यालयमार्फत गरिएको बीमावापत लाग्ने सम्पूर्ण खर्च महासंघले व्यहोरेको शाखा सचिव राजकुमार रेश्मीले बताए ।कोरोना परीक्षण गर्दा कुनै पनि व्यक्तिको पिसिआर पोजेटिभ रिपोर्ट आए रकम उपलब्ध हुने बीमा कम्पनीका शाखा प्रबन्धक नारायण न्यौपानेले जानकारी दिए । सरकारी निकायबाट कुनै सहयोग प्राप्त नभए पनि शाखाले आबद्ध सदस्य र जिल्लामा कार्यरत अन्य पत्रकारलाई स्वास्थ्य सामग्री, प्रेस ज्याकेटलगायत सामग्री उपलब्ध गराउँदै आएको छ ।रासस