सुरक्षाकर्मी, स्वास्थ्यकर्मी सहित पाल्पामा ४१ जनाको स्वाब सङ्कलन

जेठ ६, पाल्पा – पछिल्लो समय कोरोना संक्रमित बढ्दै जाँदा पाल्पामा ४१ जनाको स्वाब परीक्षणका लागि नमूना संकलन गरिएको छ । तानसेनस्थित क्वारेन्टिनमा भारतबाट फर्किएकासहित १५ तथा दोभानमा खटिएका सुरक्षा र स्वास्थ्यकर्मी २६ जनाको स्वाब संकलन गरिएको हो ।

भारतबाट आएका जिल्लावासी, क्वारेन्टिनको सुरक्षामा रहेका सुरक्षाकर्मी, भान्से तथा र सम्पर्क खोजी सूचीमा परेका व्यक्तिको स्वाब संकलन गरी परीक्षणका लागि भैरहवा पठाइएको जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख विश्वनाथ न्यौपानेले जानकारी दिएका छन् ।
प्रदेश नं ५ सरकारले १५० पिसिआर र ६४० आरडिटी किट उपलब्ध गराएको थियो । लुम्बिनी मेडिकल कलेज, पाल्पा अस्पताल र मिसन अस्पतालबाट दुई महिनाअघि २५ जनाको स्वाब परीक्षण गरिएको निमित्त प्रमुख न्यौपानेले बताए ।

अहिलेसम्म विभिन्न पालिकाका क्वारेन्टिनमा बसेका २५८ जनाको आरडिटी गरिएकामा रिपोर्ट नेगेटिभ आएको छ । जिल्लामा ७८ जना क्वारेन्टिनमा बस्दै आएका छन् ।

फाइल फोटो