फलफूल तथा तरकारी संकलन केन्द्र निर्माण गरिँदै

जेठ ४,काठमाडौँ – तनहुँको व्यास नगरपालिका कार्यालयले नगरपालिकाका १४ मध्ये ११ वडामा फलफूल तथा तरकारी संकलन केन्द्र निर्माणलाई तीव्रता दिएको छ । स्थानीय तहमा कृषकले उत्पादन गरेका फलफूल तथा तरकारी बिक्रीवितरणमा सहज बनाउन र उनीहरुलाई आत्मनिर्भर गराउने उद्देश्यले नगरपालिकाको सहयोगमा संकलन केन्द्र निर्माण थालिएको हो ।

नगरपालिकाले एउटै ढाँचाका संकलन केन्द्र निर्माण गर्ने गरी तीन लाख रुपैयाका दरले रु ३३ लाख बजेट विनियोजन गरिसकेको व्यास नगरपालिकाले जनाएको छ । व्यास बजार क्षेत्रमा रहेका २, ३ र ४ वडामा नगरपालिकाले नै कृषकका लागि बिक्रीवितरण गर्ने विक्रीकक्ष बनाउन प्रक्रिया अघि बढाइसकेको नगर प्रमुख बैकुण्ठ न्यौपानेले जानकारी दिए।

पर्यटन र उद्योगले गति लिन नसक्ने अवस्था आएपछि फलफूल र तरकारीमा आत्मनिर्भर बनाउने योजनासहित नगरपालिकाले पहल कदमी थालेको उनले बताए । वडा कार्यालयमा कृषि क्षेत्रका लागि न्यूनतम रु १० लाख नघटाई आगामी बजेटमा सम्बोधन गर्ने योजना छ । व्यास–१ का वडाध्यक्ष खरसिं दरैले वडामा निर्माण गरिएको संकलन केन्द्रको निर्माण अन्तिम चरणमा पुगेको बताए । व्यास–१ स्थित बुल्दीखोला पुल नजीकको ओरालामा तीन कोठाको संकलन केन्द्र निर्माण गरिएको उनले जानकारी दिए ।

वडामा फलफूल तथा तरकारी संकलन केन्द्र नहुँदा खुला आकाशमुनि घामपानी र हावाहुरी नभनी सडक किनार छेउमा बसेर बिक्रीवितरण गर्नुपर्ने सर्वसाधारणको बाध्यता थियो । व्यास– ७ मा भने लकडाउनका कारण संकलन केन्द्र निर्माण प्रभावित भएको वडाध्यक्ष तुलसीराम सापकोटाले जानकारी दिए ।रासस