गोदावरीका बालबालिकालाई सहयोग गरिने

बैशाख ३१, काठमाडौ- गोदावरी नगरपालिकाले यहाँका बालबालिकालाई आवश्यक सहयोग गर्ने भएको छ । विश्वव्यापीरूपमा फैलिरहेको कोरोना भाइरस सङ्क्रमणका कारण मुलुक बन्दाबन्दी भएको अवस्थामा घरभित्रै रहन बाध्य बालबालिकालाई नगरपालिकाले उनीहरुको हितमा विभिन्न कार्यक्रम गर्न लागेको हो ।

गोदावरीभित्र कति बालबालिका छन् । उनीहरु के गर्न चाहन्छन् । उनीहरुको स्वास्थ्य, आर्थिक अवस्थाका साथै सामाजिक अवस्था कस्तो छ । उनीहरुले बन्दाबन्दीमा खाद्यान्नका साथै अध्ययन गर्ने वातावरण पाएका छन् कि छैनन् भन्ने आदि जानकारी हासिल गर्न वडास्तरीय बाल क्लबलाई पत्राचार गरिएको नगरपालिका उपप्रमुख मुना अधिकारीले जानकारी दिइन । उनले भनिन्, “हामीले गोदावरीका बालबालिकाको तथ्याङ्क सङ्कलन गरी पहिलो चरणमा उनीहरुको अवस्था बुझ्ने छौँ  । यी बालबालिकाले बन्दाबन्दीमा के–कसरी जीवन अघि बढाइरहेका छन् आदि जानकारी हासिल गरी समस्यामा परेकालाई विभिन्न कार्यक्रममार्फत सहयोग गर्ने तयारी गरेका छौं ।” बन्दाबन्दीको समयमा अध्ययनलगायत खाद्यान्न र औषघि उपचारको सेवाबाट बालबालिकाले बञ्चित हुनु नपरोस् भन्ने उद्देश्य नगरपालिकाको रहेको अधिकारीले जानकारी दिइन ।

गोदावरीमा रहेका असक्त, अपाङ्गता, गरिब र अतिविपन्न परिवारका बालबालिकालाई आफूहरुले पहिलो चरणमा आवश्यक सहयोग गर्ने योजना बनाएको वडा नं १३ का वडाध्यक्ष भाष्कर थापाले बताए । उनले भने, “नगरपालिकामा रहेका कूल ३६ सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थी जो–केही गर्न चाहन्छन् । उनीहरु विभिन्न किसिमका आवश्यकताको बाबजुद त्यसै खाली बस्न बाध्य भएका छन् ।” जसले नगरपालिकामा सञ्चालित कुनै सङ्घसंस्थाबाट आरक्षण पाएका छैनन् यस्तालाई विचार गरी आवश्यक कार्यक्रम अघि बढाउन लागिएको थापाले जानकारी दिए ।रासस