भारतमा कोरोनाभाइरसबाट ७४ हजार संक्रमित

बैशाख ३१, रासस – भारतमा बुधबार बिहानसम्ममा कोरोनाभाइरसबाट संक्रमित व्यक्तिको संख्या ७४ हजार २८१ पुगेको छ । भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार विगत २४ घण्टामा भारतभर तीन हजार ५२५ जना नयाँ संक्रमित भेटिएका छन् ।

कूल संक्रमितमध्ये २४ हजार ३८५ जना निको भएर घर फर्किएका वा डिस्चार्ज भएका छन् भने ४७ हजार ४८० जनाको उपचार भइरहेको छ ।

कोविड–१९ बाट विगत २४ घण्टामा १२२ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोनाभाइरसबाट मृत्यु हुनेको कूल संख्या दुई हजार ४१५ पुगेको छ ।

मन्त्रालयका अनुसार महाराष्ट्र, गुजरात, तामिलनाडु र नयाँ दिल्ली राज्य सबैभन्दा बढी प्रभावित भएका छन् । पछिल्लो विवरण अनुसार महाराष्ट्रमा २४ हजार ४२७ जना, गुजरातमा ८ हजार ९०३ जना, नयाँदिल्लीमा ७ हजार ६३९ जना संक्रमित छन् ।

कूल मृत्यु भएका व्यक्तिमध्ये महाराष्ट्रमा ९२१ जना, गुजरातमा ५३७ जना र तामिलनाडुमा ६१ जनाको मृत्यु भएको छ ।

यसैगरी भारतका उत्तर प्रदेश, बिहार, पश्चिम बंगाल, अरुणाचल, गोवा, मणिपुर, मिजोरम समेतका धेरै राज्यमा कोरोनाको संक्रमण देखिएको छ । कोरोना संक्रमण रोकथामका लागि भारत सरकारले एक महिनाभन्दा बढी समयदेखि देशव्यापी लकडाउन जारी राखेको छ ।

तर पछिल्लो समय भारतीय श्रमिक, मजदूर, विद्यार्थी समेतका लागि विशेष श्रमिक रेलसेवा सञ्चालनमा ल्याएको छ ।