‘शिक्षक अनलाइन तालिमले बन्दाबन्दीको उपयोग’

बैशाख २७, काठमाडौ-कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले शिक्षक अनलाइन तालिम बन्दाबन्दीमा उपयोग भएको बताएका छन् ।

एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन कर्णाली प्रदेशद्वारा आयोजित पाँचदिने सूचना, सञ्चार र प्रविधि अनलाइन तालिम समापन कार्यक्रममा बोल्दै उनले बन्दाबन्दीको समयमा सञ्चार तथा प्रविधिकै सहयोगमा लिइएको अनलाइन तालिम शिक्षकका लागि लाभदायक हुने बताए । उनले भने, “तालिम समय सान्दर्भिक र उपयुक्त छ, अब यसलाई युगअनुरुप प्रयोगमा लैजाने काम शिक्षकको हो ।”

अबको शिक्षालाई विज्ञान र प्रविधिसँग जोडेर लैजानुपर्नेमा जोड दिँदै मुख्यमन्त्री शाहीले आइसिटी तालिमबाट शैक्षिक गुणस्तरमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । युग सुहाउँदो शिक्षाका लागि शिक्षक सशक्त हुनुपर्ने धारणा राख्नुभएका उनले यसमा कर्णाली प्रदेशले शैक्षिक जनशक्तिका क्षमता विकासका लागि आवश्यक सहयोग गर्ने विश्वास दिलाए ।

प्रदेशका वडास्तरमा चिकित्सक तथा स्वास्थ्यकर्मी पठाएर कोरोना परीक्षण गरी सुरक्षित देखिएका ठाउँमा बन्दाबन्दीलाई खुकुलो बनाएर शिक्षण कार्यलाई सञ्चालन गर्ने उनको भनाइ थियो । सङ्गठनका अध्यक्ष रेश्मीलाल चपाईले सूचना प्रविधिको युगमा शिक्षक कक्षाकोठामा हुँदा शिक्षण प्रक्रियामा प्रयोग हुने एप्स, गुगल एप्स प्रयोगमा ल्याउन ‘आइसिटी इन एजुकेसन’ अनलाइन तालिमले सहयोग पुग्ने बताए ।

“सूचना प्रविधिको युगमा शिक्षकलाई सक्षम र प्रविधियुक्त बनाउने उद्देश्यका साथ तालिमको आयोजना गरिएको हो”, अध्यक्ष चपाईले भने, “यो बन्दाबन्दीको समयमा मुलुकका ७७ वटै जिल्ला समेटिने गरी ‘आइसिटी इन एजुकेसन’ तालिम सातै प्रदेशमा सम्पन्न भएको छ ।”

सङ्गठनका केन्द्रीय सदस्य तथा प्रदेश उपाध्यक्ष रामबहादुर रावलले सङ्गठनको यही वैशाख २४ गते बसेको अनलाइन बैठकले प्रदेशस्तरमा पाँचदिने अनलाइन तालिम सञ्चालन गर्ने निर्णयबमोजिम सम्पन्न गरिएको बर्ताए। उपाध्यक्ष रावलका अनुसार कर्णाली प्रदेशका ५५ शिक्षकले ‘आइसिटी इन एजुकेसन’ तालिम लिएका छन् ।

उक्त अनलाइन तालिममा माधव महरा, लक्ष्मणप्रसाद अधिकारी, जीतबहादुर शाह, धर्मराज पौडेल र तिलकबहादुर खत्रीले माइक्रोसफ्ट अफिस, बेसिक फिचर अफ गुगल, पावर प्वाइन्ट, इमेल एण्ड इन्टरनेट र इन्ट्रोडक्टसन अफ डिफरेन्ट एप्स फर टिचिङ लर्निङसम्बन्धी प्रशिक्षण दिएका थिए।रासस