दीर्घरोगीलाई घरमै स्वास्थ्य सेवा

बैशाख २६,राजपुर – बारबर्दिया नगरपालिकाले दीर्घरोगीलाई घरमै स्वास्थ्य परीक्षण गरी निःशुल्क औषधि वितरण शुरु गरेको छ ।

बन्दाबन्दीका कारण नियमित स्वास्थ्य जाँच गर्न जान नसकेका ज्येष्ठ दीर्घरोगीलाई आजदेखि घरमै पुगेर सेवा प्रदान गरिएको नगर प्रमुख दुर्गबहादुर थारु कबिरले जानकारी दिए ।

उनका अनुसार ८४ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकको घरमै गएर स्वास्थ्य सेवा प्रदान गरिने छ । नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख डिल्लीराज शर्माले लकडाउनको समय थपिएसँगै नियमित औषधि सेवन गर्नेलाई असहज भएका कारण मधुमेह, रक्तचाप, बाथरोग, सिकलसेल, मिर्गौला र मुटुका बिरामीलाई स्वास्थ्य परीक्षण गरी प्राथमिक स्वास्थ्य केन्द्र मगरागढीमार्फत औषधि वितरण शुरु गरिएको बताए ।

आठ स्थानीय तहका दीर्घरोगीका लागि नगरले अस्पतालसम्म निःशुल्क एम्बुलेन्स सेवा समेत दिँदै आएको जनाइएको छ ।