बन्दाबन्दीले अपाङ्ग व्यक्तिलाई औषधि अभाव

बैशाख २६ धादिङ – फरक क्षमता भएका व्यक्ति (अपाङ्गता) लाई औषधिको अभाव भएको छ । कोभिड–१९ को जोखिम हुन नदिन बन्दाबन्दी जारी रहँदा नियमित खानुपर्ने औषधि जिल्लामा उपलब्ध नभएपछि उनीहरुलाई समस्या परेको हो ।

मनोसामाजिक समस्या भएका व्यक्तिहरुले औषधि खरिद गर्न नपाएर समस्या भोगिरहेका छन् भने रकम अभावमा समेत उनीहरुले डेढ महिनाको लकडाउनमा औषधि खरिद गर्न नसकेको राष्ट्रिय अपाङ्ग महासङ्घका केन्द्रीय सदस्य गुणराज खतिवडाले जानकारी दिए ।
केहीले आफूसँग पैसा नभएर औषधि नपाएको गुनासो गरिरहेका छन् । जिल्लामा मनोसामाजिक औषधि खानुपर्ने अवस्थाका ४०० व्यक्ति रहेका छन् । उनीहरु बन्दाबन्दीले गर्दा समस्या भोगिरहेको उनको भनाइ छ ।

हेमोफेलियासम्बन्धी अपाङ्गता भएका बिरामी सात जना छन् । उनीहरुले नियमित औषधि खानुपर्छ । यसको औषधि काठमाडौँमा मात्र पाइने भएकाले औषधि ल्याउन समस्या भएको छ । वीर अस्पतालमा मात्र औषधि पाइन्छ, तर त्यहाँ पनि पाउन पहिल्यै नाम दर्ता गराउनुपर्ने हुन्छ ।

स्पाइनल कर्ड इन्जुरी भएका बिरामीको सङ्ख्या पनि जिल्लामा ३० भन्दा बढी छ । उनीहरुलाई सहायक सामग्री चाहिन्छ । दिसापिसाब गर्ने सामग्रीसमेत आवश्यक पर्ने र लामो समयसम्म लकडाउन भएका कारण अपाङ्गता भएका व्यक्ति समस्यमा परेका हुन् ।

बौद्धिक अपाङ्गता भएकाले समेत औषधि खानुपर्ने र उनीहरुले खाने औषधि निश्चित ठाउँमा मात्र पाउने भएकाले अपाङ्गता भएकाहरुले विपद्का बेलासमेत समस्या भोग्न बाध्य भएको समस्या भोगिरहेका शिव श्रेष्ठले जानकारी दिए ।

रासस