स्थानीयवासीको बिरोध बिच तातोपानीबाट रातारात ६ कन्टेनर स्याउ र लसुन भित्रिए

बैशाख २२, काठमाडौं – चीनसँगको उत्तरी नाका तातोपानी नाकाबाट स्याउ र लसुन भित्र्याइएपछि स्थानीयवासीले विरोध जनाएका छन् ।

लकडाउनका बेला सहमति बेगरका सामग्री ल्याएको भन्दै स्थानीयवासीले विरोध जनाइरहँदा तातोपानी नाकाबाट रातारात प्रहरी ‘स्कर्टिङ’ मा कन्टेनर भने भित्रिएका छन् । गएराति छ वटा कन्टेनर पालैपालो लिपिङ हुँदै तातोपानी बजार आइपुगेका छन् ।

मेडिकल र खाद्य सामग्री मात्र ल्याउने सहमतिमा नाका खोल्न दिइएकामा यसरी अरू सामान ल्याउँदा कोरोना भित्रिने जोखिम बढेको भन्दै जनप्रतिनिधिले भन्सारमा २ दिन पहिले ज्ञापन बुझाएका थिए ।

तातोपानीका प्रमुख भन्सार अधिकृत लालबहादुर खत्रीले सरकारबाट खोलिएको नाकाबाट सामग्री आयातमा सुरक्षाका लागि स्कर्टिङ गरिएको बताए ।