जब कोरोनाले सम्झाइदियो तगाँलो र आँखीझ्याल

बैशाख २०, गलेश्वर – करिब तीन दशकअघि गाउँको स्वरुप नै भिन्नै थियो । अपरिचित मानिस वा पशु चौपायाबाट सुरक्षित रहन मानिसले खेतबारीको साँध र घरको आँगन नजिकै दुईतिर छेडिएका (प्वाल पारेका) खाँवा गाडेर बीचबीचमा बाँस वा काठका ठिक्कका गरला राखी छेकबार लगाउने गर्दथे । समय फेरियो । समयसँगसँगै नयाँ प्रविधि र साधन मात्रै होइन, मानिसको सोंच र तौरतरिकामा पनि ठूलै परिवर्तन आयो ।

रैथाने सीप, प्रविधि र सुरक्षा विधि विस्थापित हुँदै गए । हुँदाहुँदै लोप हुने अवस्थामा पुगे । सूचना प्रविधि र विकासका पूर्वाधारका कारण गाउँलाई पनि आफ्नो मौलिक स्वरुपमा नराखी आधुनिक स्वरुपमा विकसित गर्न थालियो । मानिस जति–जति शिक्षित, चेतनशील, सभ्य र आधुनिक बन्दै गयो, उति–उति प्रकृतिमाथिको अतिक्रमण गर्ने क्रम बढ्दै गयो । महान् दार्श्निक रुसोले उतिबेला नै मानिसलाई ‘प्रकृतितर्फ फर्क’ भनेर चेताएका थिए । तर मानिसले प्रकृतिभन्दा विज्ञानका आविष्कारलाई महत्व दिन थाल्यो । दम्भ र अभिमान चुलिदै गयो । अन्ततः मानिस जितेको अभिनय गर्दागर्दै हार्न बाध्य भयो र अहिलेको अवस्था आयो ।

गत नोभेम्बरको अन्त्यतिर चीनको हुवान प्रान्तमा देखिएको कोरोना भाइरसका कारण अहिले विश्व नै आक्रान्त बनेको छ । यो समाचार तयार पार्दै गर्दासम्म विश्वमा कोरोना सङ्क्रमितको सङ्ख्या २६ लाख ६० हजार ३२२ पुगेको छ भने एक लाख ८५ हजार ४६८ को ज्यान गएको छ । नेपालमा पनि ५९ जना सङ्क्रमित भएका छन् भने १६ निको भएर घर फर्किएका छन् ।

संसारभरि महामारीको रुप लिएको कोरोना भाइरसले मानिसलाई धेरै कुरा सोच्न र सम्झन बाध्य बनाएको विभिन्न क्षेत्रका व्यक्तिको भनाइ छ । म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटका ६० वर्षीय पदमपाणि शर्मा भन्छन्, कोरोनाले पूर्वीय दर्शन र आध्यात्मिक भावलाई विश्वभरि चिनाएको छ ।” उनका अनुसार हात धुने, नमस्कार गर्ने, एकान्तमा बसेर चिन्तनमनन गर्ने, छाडा होइन अनुशासित बन्ने, शाकाहारी भोजन गर्ने यी कुरा अहिले विश्वले थाहा पाएको छ । तर हाम्रा लागि यी कुरा सनातन नै हुन् । उहिल्यैदेखि गरिदै र अपनाइँदै आइएका कुरा हुन् । मात्र हामीले हाम्रा यस्ता अमूल्य र वैज्ञानिक मान्यतालाई बिर्सिएका रहेछौँ, अहिले कोरोनाले सम्झाइदिएको हो ।”

समयले मानिसलाई अब गाउँतिर फर्कन बाध्य बनाएको छ । गाउँका तगाँलो र आँखीझ्याललाई सम्झाइदिएको छ, माटोको महक कस्तो हुन्छ भन्ने बुझ्दैछन् शहरमा आना र धुरमा धर्तीलाई चिराचिरा पार्नेहरुले”, शर्मा भन्छन् । शर्माको भनाइसँग ७० वसन्त पार गरिसक्नुभएका भविन्द्रविक्रम शाह पनि सहमत हुनुहुन्छ । शाह भन्छन्, ‘ओल्लो गाउँको मानिस पल्लो गाउँमा आउँछ कि भनी बाटो र पुलमा बार लगाइएको छ । पहिला–पहिला बालीमा पशु पस्छ कि भनेर तगालो हालिन्थ्यो, अहिले ग्याविन जाली, रुख, जस्तापाताले पशुलाई होइन मानिसलाई नै छेकवार लगाएको छ ।’

घरभित्र बसेर बाहिर आएका मानिससँग बोल्न र भेट्नसमेत डर मान्नु परेको छ । बाहिरबाट कसैले बोलायो भने पनि ढोका खोल्न डर मान्छन् अचेल मानिसहरु । पहिला–पहिला पो आँखीझ्याल हुन्थे र भित्रैबाट हेर्न पाइन्थ्यो”, शाहले भने , ‘कोरोनाले तँगालो र आँखीझ्याललाई पनि सम्झाइदिएको छ ।’ अहिले बाटोमा बार लगाएर मानिसलाई रोकथुन गरेका खबर स्थानीयवासीदेखि राष्ट्रिय सञ्चारमाध्यममा पनि पढ्दा, सुन्दा र हेर्दा उहिलेको जमानाको याद आयो”, मङ्गला गाउँपालिकाको रणवाङका हरिकृष्ण पौडेलले भने, ‘हाम्रा पुर्खा कति दूरष्टा र सीपालु रहेछन् भन्ने कुरा नयाँ पुस्तालाई बुझाउन पनि कोरोना महामारी सफल भएको छ ।’

‛घरको झ्यालढोका नै नखोलीकन बाहिर को आएको छ, भन्ने बुझ्न सजिलो होस् भनेर नै आँखीझ्याल बनाइएको हुनुपर्छ ’, वातावरण र संस्कृतिका अध्येता सुशन सापकोटाले भन्नुभयो, “अक्सिजन र प्रकाश दुवै ठिक्क मात्रामा भित्रिने गरी निर्माण गरिएका आँखीझ्याल वास्तुकलाका अनुपम नमूना हुन्, तर दुर्भाग्य ती अमूल्य सम्पदाहरुको संरक्षण गर्न सकिएन, नास भए । तर, कोरोनाले सम्झाइदिएको छ ।’

शहरबजारमा फलामको गेट खोलेर ओहोरदोहोर गर्नेहरुका लागि तगाँलो भनेको कुन चरिको नाम हो, थाहै थिएन । गाउँमै जन्मेहुर्केकाले पनि भुलिसकेका थिए । तर अहिले ठाउँगाउँमा लगाइएका बारले मान्छे पनि पशुजस्तै बनेको हो कि ?
विशेषगरी विसं २०७२ को महाभूकम्पपछि बनेका घर र भूकम्पप्रतिरोधी निर्माण विधिका कारण कहीँकतै बचेको गाउँमा आँखीझ्याल र तगारो राख्ने चलन पनि हराएको स्थानीयवासीको भनाइ छ । ‛पुनःनिर्माण प्राधिकरणले घर बनाउँदा सिमेन्ट दल्नैपर्ने उर्दी जारी ग¥यो, सानो झ्याल राख्नै नपाइने नियम बनाएपछि पुर्खाले मेहेनत गरेर बनाएका चार–पाँच सय वर्ष पुराना आँखीझ्याल विस्थापित भए । भूकम्पअघि गाउँमा कसैले नयाँ घर बनाए पनि आँखीझ्याल पुरानै राख्ने चलन थियो’, भीमबहादुर कार्कीले भने

भूकम्पपीडित जिल्लामा प्राधिकरणले खटाएका इञ्जीनियरले आँखीझ्याल कामै लाग्दैन भने । प्राधिकरणको नियमानुसार झ्यालको साइज चार बाइ छ हुनुपथ्र्यो । राँबो र छिनोको सहयोगमा परम्परागत बुट्टा कुँदिएका आँखीझ्याल साना साइजका हुन्थे । कोरोना भाइरसको सन्त्रासले अहिले फेरि गाउँ–गाउँमा तगाँलो हाल्न शुरु गरिए आँखीझ्याल भने विस्मृतिको गर्भमा लोप भएर गएका छन् । अब आँखीझ्यालको स्मृति मात्र बाँकी रहेको र त्यो पनि कोरोनाले सम्झाइदिएको गाउँलेहरुको भनाइ छ ।

‘न गाउँ गाउँजस्ता रहे, न गाउँ शहरजस्ता भए’

प्रविधिको पहुँच र विकासको लहरले गर्दा गाउँलाई केही सुविधायुक्त बनाए पनि जोखिमबाट भने गाउँ पनि सुरक्षित नरहेको गाउँलेहरुको भनाइ छ । ‛गाउँमा नयाँ प्रविधि भित्रिएको र सुविधा पुगेकामा जति खुशी छौँ, रैथाने सीप र प्रविधि गुमाउनुपर्दा त्यत्तिकै दुःखी पनि छौँ’, धवलागिरि गाउँपालिकाको ताकमका ७४ वर्षीय बुद्धिप्रसाद सुवेदीले भने ‛न गाउँ गाउँजस्ता रहे, न गाउँ शहरजस्ता भए ।’

गाउँ–गाउँमा सङ्क्रमण फैलियो भने गाउँको स्रोत र साधनले सङ्क्रमितलाई बचाउन सक्ने सामथ्र्य त छैन । जोगिने उपाय भने आफूले सिक्दै अरुलाई पनि सिकाउन सक्ने अवस्थामा भने गाउँ छ । गाउँका गौँडामा हालिएको तगाँलो कसैलाई ओहोरदोहोरमा बन्देज लाउनका लागि नभइ कोरोना सङ्क्रमणका सचेतनाका लागि भएको गाउँलेहरुले बताएका छन् ।

रासस