मुस्ताङको साग निःशुल्क वितरण

वैशाख १८, काठमाडौ – मुस्ताङ जिल्लाबाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य इन्द्रधारा विष्टले तेस्रोपटक आज पोखरामा कोरोनाविरुद्ध अग्रमोर्चामा खटिनेलाई मुस्ताङको साग वितरण गरेका छन।

बन्दाबन्दीका कारण मुस्ताङको घरपजोङ गाउँपालिकाका विपन्न परिवारले उत्पादन गरेको साग बिक्री नभएपछि उनले आप्mनो निजी खर्चमा खरिद गरी पोखराका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र सञ्चारकर्मीलाई निःशुल्क वितरण गरिदिएका हुन । उनले मुस्ताङबाट प्रतिकिलो रु ३० का दरले साग खरिद गर्नुभएकोे बताए ।

पहिलो चारणमा दुई हजार केजी, दोश्रो र तेश्रो चरणमा एक÷एक हजार केजी खरिद गरि वितरण गरेको बताउँदै उनले भने, “उपल्लो मुस्ताङका ट्रक व्यवसायीले पोखरासम्म साग निःशुल्क ढुवानी गरिदिएका हुन ।” हाइअल्टिच्यूटमा उत्पादित अर्गानीक मार्फाको साग नरम, छिटो पाक्ने र स्वादिष्ट हुने भएका कारण पोखरा बजारमा यसको माग उच्च रहेको छ । हवाईजहाजबाट ढुवानी गरिएको सो साग पोखरा बजारमा रु एक सयदेखि एक सय पचास सम्ममा बिक्री हुने गरेको थियो ।