बाँकेमा भारतीय तरकारी बिक्री वितरणमा रोक

बैशाख १८, काठमाडौं – बाँकेका स्थानीय तहले भारतीय तरकारी बिक्री वितरणमा रोक लगाएका छन् । कोरोना भाइरस रोकथामका लागि जारी बन्दाबन्दीमा पनि गाउँगाउँमा पुग्ने भारतीय तरकारीबाट सङ्क्रमणको जोखिम बढेको भन्दै भारतीय सीमासँग जोडिएका यहाँका स्थानीय तहले बिक्री वितरणमा रोक लगाएका हुन् ।

बाँकेसँग जोडिएको भारतको उत्तर प्रदेशका जिल्लामा कोरोनाको सङ्क्रमण बढ्दो रहेकाले पनि भारतीय तरकारीबाट सङ्क्रमणको जोखिम बढेको खजुरा गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले बताए ।

‘‘खजुरा गाउँपालिकाको वडा नं १ राधापुर क्षेत्र भारतसँग जोडिएकाले त्यहाँ सशस्त्र प्रहरी तथा राधापुरचौकीलाई भारतीय तरकारी रोक्न आग्रह गरिएको छ भने स्वयंसेवक दस्ता पनि परिचालित हुने गरेको छ’’, उनले भने े, ‘‘सीमा क्षेत्रमा पूर्णरुपमा आवतजावत रोक्न सुयुक्त सुरक्षा फौज लागिपरेको छ ।’’

खजुरा क्षेत्रका किसानले उत्पादन गरेको तरकारीलगायत कृषि उत्पादन पर्याप्त रहेकाले भारतीय तरकारीमा रोक लगाउँदै स्थानीय कृषि उपजको बजारीकरणमा ध्यान दिइएको उनको भनाई छ । बन्दाबन्दीका कारण किसानको खेतमा अलपत्र तरकारी बजार व्यवस्थापनका लागि खजुरा क्षेत्रका अगुवा कृषक र कृषि सहकारीका प्रमुखसँगको छलफल गरेर खजुरामै कृषि उपजको खपत गर्नेतर्फ गाउँपालिकाले जोड दिएको अध्यक्ष कक्षपतिले जानकारी दिए ।

बाँकेकै कोहलपुर नगरपालिकाले पनि भारतीय तरकारी बिक्रीवितरणमा रोक लगाउँदै नेपाली किसानले उत्पादन गरेको तरकारी कृषि बजारसम्म पु¥याउने व्यवस्था गर्न लागिरहेको छ ।

नागरिकस्तरबाटै भारतीय तरकारी बिक्रीवितरणमा रोक लगाउनुपर्ने माग भएपछि अहिले नगरपालिकाले त्यसलाई कार्यान्वयन गरिरहेको नगर प्रमुख लुटबहादुर रावतले बताए। ‘‘विगतमा गाडीका गाडी आउने भारतीय तरकारी आयातमा रोक लगाइएको छ, । लुकिछिपी आउने व्यापारीहरुलाई समेत बिक्रीवितरणमा रोक लगाउने तयारी भइरहेको छ’’, नगरप्रमुख रावतले भने ।

अहिले पनि व्यापारीले ठेला र साइकलमा नेपालगञ्जका टोलटोलमा भारतीय तरकारी पु¥याउने गरेका छन् । भारतीय तरकारी पूर्ण रुपमा आयात रोक लगाएर बाँकेमा किसानले उत्पादन गरेको तरकारीलाई बजारीकरण गनुपर्ने नागरिकस्तरबाट माग गर्न थालिएको छ ।

स्थानीय मानवअधिकार सञ्जाल नेपालगञ्जका संयोजक तेजविक्रम शाह भारतबाट दैनिक रुपमा ठूलोमात्रामा भित्रिने तरकारीबाट कोरोनाको जोखिम बढेकाले तुरुन्तै यसतर्फ स्थानीय सरकार सजग हुनुपर्ने बताउनुहुन्छ । कम्तीमा आफ्नो स्थानीय तहमा भारतीय तरकारी बिक्री वितरणमा रोक लगाउन सकिए पनि ठूलो उपलब्धि हुन सक्ने उनको भनाई छ ।

रासस