पुष्प ब्यबसायी भन्छन् ‘फूल फाल्दा आँसु झर्छ’ ।

वैशाख १७, काठमाडौ –लकडाउन नहुदो हो फूल ब्यबसायी राधा मताङ्गी यतिबेला निकै ब्यस्त हुन्थिन् । फूल स्याहार्नु, फूलको वेच्नु र नर्सरीमा कर्मचारीहरु खटाउनुमै उनको दैनिकी बित्यो । तर समय अहिले त्यस्तो छैन । कोरोना नियन्त्रण तथा रोकथामका लागि देशब्यापी रुपमा लकडाउन लागु भएपछि पुष्प ब्यबसाय अहिले ठप्प छ । फूल बिक्री नभएपछि ब्यबसायीहरुले फूल काट्दै फाल्दै गरिरहेका छन् ।

मताङ्गीको भक्तपुरमा ५ रोपनी जग्गामा नर्सरी सञ्चालनमा छ ।  उनले जरबेरा, कार्डिनेशन र ब्याडुलस जातका फूल लगाएकी छन् । अहिले यि फूलहरु नर्सरीमा ढकमक्क फुलेका छन् । तर यि फूलहरु बेच्न होइन काटेर फाल्न बाध्य उनि वताउछिन । भन्छिन् ‘अहिले अत्यधिक फूल फुल्ने समय हो, तर ब्यापार नहुदा काटेर फाल्नु परेको छ । फूल फाल्नु पर्ने भएकाले उनि नर्सरीमा जान समेत सकेकी छैनन् । उनले सहयोगीहरुलाई काम गर्न अह्राउने गर्छिन् । उनि भन्छिन् ‘आजभोली म नर्सरीमा पनि जान सक्दिन, फूल काटेर फाल्दा रुन मन लाग्छ ।’

बिगतका बर्षहरुमा पार्टी प्यालेस, बिबाह समारोहका लागि र अन्य बिभिन्न कार्यक्रमका लागि अत्यधिक फूलको माग हुन्थ्यो । यो समयमा उनले मनग्गे आम्दानी पनि गर्थिन् । तर अहिले सबैतिर बन्द हुदा फूल काटेर फाल्नुको बिकल्प नै नरहेको इमेल खबरलाई बताइन्  । नजिकका उपभोक्ताहरु पनि कोरोना सर्ने डरले नर्सरीसम्म नआएको उनि सुनाउछिन् । उनि भन्छिन् ‘ फूल चढाउनका लागि अहिले मन्दिर जाने सम्म पनि अवस्था छैन, अरु त कुरै नगरौ’ ।

ब्यबसायीक फूल खेतीमा उनको ४० लाख लगानी छ । बैक र सहकारीबाट क्रण लिएर उनले ब्यबसाय सुरु गरेकी हुन् । मासिक रुपमा उनले ब्याज बुझाउनु पर्ने हुन्छ । तर डेढ महिना उनको ब्यापार भएको छैन । फूल बेच्न नपाउनुको पिडा त उनमा छदै छ त्यसमाथि पनि मासिक रुपले तिर्नुपर्ने ब्याजले उनलाई पिरोल्छ । उनि भन्छिन् ‘ब्यापार छैन कसरी ब्याज तिर्ने, समस्या छ ।’

त्यस्तै महाराजगञ्जकी उषा खड्काले लकडाउन यता करिब १ लाख बराबरकी फूल काटेर फालिसकेकी छन् । उनलाई फूल काटेर फाल्न पनि सकस परेको छ । कर्मचारीहरु सबै घर फर्किसकेका छन् । उनि भन्छिन् ‘यतिबेला फूल बेच्न त पाइएन नै काटेर फाल्न पनि समस्या भएको छ ।’ यस अघि नर्सरीमा ४ जना कर्मचारीले निरन्तर काम गरिरहेका उनले बताइन् ।

उनले फूल ब्यबसाय सञ्चालन गर्न थालेको करिब २० बर्ष भइसक्यो । तर यस्तो महामारी पहिलो पटक भोग्नु परेको उनि बताउछिन् । बिगतका बर्षहरुमा उनले यस ब्यबसायबाट बार्षिक करिब १५ लाख आम्दानी गर्ने गरेको बताउछिन् । तर यस बर्षको सुरुवातबाटै महामारी लागेकाले ब्यबसायमा संकट आएको उनको भनाई छ ।

४ रोपनीमा फूल ब्यवसाय सञ्चालन गर्नका लागि उनले बैंकमा क्रण लिएकी छन् । फूल बेचेर क्रण तिर्ने योजना थियो उनको । लकडाउनले ब्यबसाय ठप्प भएपछि यतिबेला उनि चिन्तित छन् । उनि भन्छिन् ‘लकडाउन लम्बिदै गएमा पुष्प ब्यबसायीहरु निकै मार्कामा पर्छन् ।’

कोरोनका कारण देशमा लकडाउन लागुभएपछि दैनिक रुपमा सवा करोडको क्षति भइरहेको बताउछन् फ्लोरिकल्चर एसोसिएसन नेपालका अध्यक्ष कुमार कसजु श्रेष्ठ । अहिले देशभर करिब साढे छ अर्ब लगानी पुष्प ब्यबसायमा रहेको उनि बताउछन् । उनि भन्छन् ‘फूल ब्यबसाय पर्यटन संग सम्बन्धीत छ, पर्यटन ब्यबसाय ठप्प भएसंगै फूल ब्यबसाय पनि ठप्प हुन्छ । ’

ब्यबसाय ठप्प भएसंगै काम गर्ने कर्मचारीहरु पनि प्रभावित हुने गरेका छन् । ब्यबसायीहरुले कर्मचारीहरु कटौती गरिसकेका छन् । कसजुका अनुसार कोरोनका कारण यस ब्यबसायमा सम्लंग्न करिब ४२ हजार कर्मचारीहरुको रोजगार गुम्ने सम्भावना रहेको छ ।