‘गुनासो सुन्न नसक्नेहरू सरकार संचालन गर्ने्तिर नसोचून्’–पूर्वसचिव उपाध्याय

बैशाख १६ काठमाडौं – पूर्वसचिव भीम उपाध्यायले सरकारको बेला बेलामा कान र आखा खोल्ने कर्तब्य सबै नागरिकको हुने उल्लेख गरेका छन्। रिहा भएलगतै उपाध्यायले सरकार चलाउने चाहना राख्नेले नागरिकको गुनासो सहन र बहन गर्न सक्नुपर्ने जनाएका छन्।

‘फलामको च्यूरा चपाएर पचाउने पाचनशक्ति नहुनेहरू सरकार चलाउन योग्य मानिदैन । जसले फलामको च्यूरा चपाएर पचाउन सक्छ ती मात्र सरकार संचालन गर्ने्तिर जान सोचून, नभए पेट पाल्ने अरू हजार उपाय छन्।’ उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्।
सामाजिक सञ्जालमा जथाभावी अभिव्यक्ति लेखेको आरोपमा पक्राउ परेका पूर्वसचिव उपाध्यायलाई सोमबार काठमाडौं जिल्ला अदालतको आदेशले धरौटीमा रिहा गरेको थियो ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश भरतमणि खनालको इजलासले उपाध्यायलाई २५ हजार धरौटीमा छाड्ने आदेश दिएको हो । प्रहरीको साइबर ब्युरोले विद्युतीय कारोबार ऐन, २०६३ अनुसार साइबर अपराधको आरोपमा उनलाई पक्राउ गरेको थियो । जिल्ला सरकारी वकिलको कार्यालयले उपाध्यायविरुद्ध पाँच वर्ष कैद तथा एक लाख रुपैयाँसम्म जरिवानाको माग गर्दै जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो ।

रिहा भएपछि उपाध्यायले लेखेको स्टाटस

नमस्कार आज अपरान्ह ३ बजे सम्मानित जिल्ला अदालतले विगत ६ दिनदेखि प्रहरी हिरासत रहेको मलाई धरौटीमा रिहा गरेको छ। यहाँहरुसंग मेरो विगत ६ दिन देखि टुटेको सम्बन्ध आजबाट पुनस् जुटेको छ।

मेरो चिन्ता लिदै मेरो रिहाईका निम्ति आआफ्नो तर्फबाट यहाँहरूले धेरै प्रयत्न गर्दै आउनु भएको रहेछ, मैले रिहा भएपछि आजबाट विस्तारै थाहा पाउदै गरेको छु। यहाँहरूको आशिर्वाद लागेको छ, पवित्र शुभेच्छामा ठूलो ताकत हुन्छ। सामूहिक भावना भनेको आध्यात्मिक उर्जा हो। विचारमा असहमत हुन सकिन्छ तर लोकतान्त्रिक मूल्य मान्यतामा कोही असहमत हुने प्रश्नै रहदैन। मेरो बारेको ब्यक्तिगत चासो भन्दा पनि लोकतन्त्रले लिक नछोडोस् भनेर यहाँहरू सबैले आवाज उठाउनु भएकोमा म हृदयदेखि आभारी छु।

मेरा कारणले मेरा हितैषी, नातेदार, शुभचिन्तक, मित्रहरूमा पनि निकै ठूलो कष्ठ पुग्यो नै। यस्तो अप्रिय अनुभूति कसैलाई गर्न नपरे हुन्थ्यो भने कामना रहे पनि राज्यको नागरिक भए पछि सुखमा मात्तिने र दस्खमा आत्तिने गर्नै हुदैन। मप्रति कसैको गुनासो रहँदा म सुनेर आफूलाई परिस्कृत गर्न सदा तत्पर रहदै आएकै छु । सधैं आफ्ना कमी कमजोरी सच्याउदै, हिड्दै आएको पनि छु र आउने छु।

सरकार सबै जनाताको अभिभावक र संरक्षक हो। आफ्नो सरकारको बेला बेलामा कान र आखा खोल्ने कर्तब्य सबै नागरिकको हुन्छ। पारायासंग त के को वादविवाद र गुनासो गरिन्छ र हैन ?

सरकार कसले चलाएको छ ? कुन दलको छ ? लोकतन्त्रमा खास मतलब रहन्न। जो सुकै होस् सरकार सही ढंगले चलेको छ भन्ने आग्रह जनताको हुन्छ। यदि सही ढंगमा चलेको छैन भन्ने जनतालाई लाग्छ भने कठोर तरिकाले नागरिकले सरकारको निगरानी गर्नै पर्छ, गरिरहनुपर्छ।

यसबाहेक अरू जनता र सरकारबीच कुनै नाता हुदैन भन्ने मेरो अटल धारणा छ। सरकार सत प्रतिशत मेरो पनि हो, सरकार मेरो पनि संरक्षक र अभिभावक पनि हो, यसमा सरकारमा को ब्यक्ति छ, त्यो गौण हुन्छ। संवैधानिक वाक् तथा अभिव्यक्ति स्वतन्त्रतामाथि कुनै कानुनले पनि रोक लगाउन सकिदैन, लोकतन्त्रको मुटु नै यही हो ।

सरकार चलाउने चाहना राख्नेले यति सहन र बहन गर्न सक्दैनन् भने सरकारमा जाने चाहना नगरे हुन्छ। फलामको च्यूरा चपाएर पचाउने पाचनशक्ति नहुनेहरू सरकार चलाउन योग्य मानिदैन। जसले फलामको च्यूरा चपाएर पचाउन सक्छ ती मात्र सरकार संचालन गर्ने्तिर जान सोचून्, नभए पेट पाल्ने अरू हजार उपाय छन्।

मेरो कसैसंग बैरभाव छैन, कसैप्रति रिसद्वेष छैन, न आजसम्म रह्यो, न रहने छ। समस्यालाई ठाउँका ठाउँ समाधार गरेर, त्यसलाई बिर्सेर निरन्तर अगाडि बढ्नु नै जीवन जिउने उत्तम शैली हो। मेरो शैली यही छ।

समस्यालाई म तनाव मान्दिन, समाधान मूल कुरा र ध्येय हो। म कुनै समस्या हैन, न अरू मेरा समस्या हुन् भन्ने मलाई लाग्छ।
मेरो हितचिन्ता लिने सबैप्रति मुटुदेखि आभार ब्यक्त गर्छु र सविनय धन्यवाद दिन चाहन्छु। म तुच्छ एक ब्यक्ति केही होईन, मूल कुरा ७ दशकदेखि लोकतन्त्रका लडेका हाम्रा अग्रजहरूको बलिदानको रक्षा होस्। स्ववतन्त्रा फोसामा प्राप्त भएको हैन, यसको मूल्य धेरैले चुकाएका छन्।

पूर्खाहरूले आजसम्म सुम्पेको प्रजातन्त्रको धरोहरमा कुनै चोट र खोट लाग्न नपाओस्। उहा‘हरूप्रति हामी सदा कृतज्ञ भइरहनुपर्छं, शहिदहरू स्वर्गमा हाम्रो आजका कृयाकलाप देखेर लज्जित हुन नपाउन्। पितृहरूको हामीलाई सदा आशिर्वाद र कृपा प्राप्त भइरहोस्। सत्कर्म र सन्मार्गमा हामीलाई लागिरहने प्रेरणा प्राप्त भइरहोस्।

अरू कुरा क्रमशस् लेख्दै गर्नेछु। यो ६ दिनपछिको पहिलो पोष्ट हो। आज ४ बजे घर पुगेपछि भर्खर केही क्षण निकालेर यो पोष्ट गर्न भ्याएँ, तर अपूर्ण छ। अरू कुराहरू पनि निवेदन गरिनै रहने छु।

शुभरात्री