प्रदेश नं ५ मा सशस्त्रको उच्च निगरानी

बैशाख १६ भैरहवा – बन्दाबन्दीपछि नेपाल भारत सीमा क्षेत्रमा सशस्त्र प्रहरी बल नेपालले उच्च निगरानी बढाएको छ । सरकारले सीमाक्षेत्रमा मानिसको आवतजावत पूर्णरुपमा प्रतिबन्ध गर्ने निर्देशनपछि सशस्त्र प्रहरी बलले निगरानी बढाएको हो ।

भारतीय सीमा क्षेत्रसँंग जोडिएको प्रदेश नं ५ का जिल्लामा पनि सशस्त्र प्रहरी बल परिचालन भएको सशस्त्र प्रहरी बल नेपालले जनाएको छ । यस प्रदेशमा करीब ७ हजार सशस्त्र प्रहरी बल परिचालन भएको बताउँदै सशस्त्र प्रहरी बलका प्रवक्ता सशस्त्र प्रहरी नायब महानिरीक्षक प्रवीणकुमार श्रेष्ठले सीमा क्षेत्रमा करीब ३५० जाँचचौकी स्थापना गरिएको जानकारी दिए ।

प्रदेश ५ मा प्रदेश सरकार र स्थानीय सरकारसँगको समन्वयमा सशस्त्र प्रहरी बल बन्दाबन्दीलाई पूर्ण रुपमा कार्यान्वयनमा खटिएको छ”, प्रवक्ता श्रेष्ठले भने । सीमाक्षेत्रमा अस्थायी चौकी निर्माण गरी बलले सुरक्षा दिनाका साथै नियमित मोटर पेट्रोलिङसमेत गरिरहेको छ ।
कोभिड–१९ को लडाइँमा सशस्त्र प्रहरीले सीमा क्षेत्रदेखि गाउँगाउँसम्म पुगेर जनतालाई सचेतना दिलाउँदै सरकारले दिएको निर्देशन पूर्णरुपमा कार्यान्वयन गरेको प्रदेश नम्बर ५ सीमा क्षेत्रमा रहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३८ गुल्म सूचना शाखाले जनाएको छ ।

प्रदेशका १२ जिल्लामध्ये ६ जिल्ला भारतीय सीमासँंग जोडिएकाले यस क्षेत्रमा मानिसको आवतजावत पूर्णरुपमा रोक्ने काम पनि सशस्त्र प्रहरीले गरिरहेको ३८ गुल्मले जनाएको छ । खुला सीमाका कारण चोरी, तस्करी तथा सीमा अपराधले बढावा पाएको नेपाल भारत सीम क्षेत्रमा अहिले व्यापक रुपमा बल परिचालन भएपछि नियन्त्रण भएको छ । सीमाक्षेत्रमा हाल खटिएका सशस्त्र प्रहरी बललाई निरन्तरता दिनुपर्ने स्थानीवासीको माग छ ।