अब डोल्पा अस्पतालमै शल्यक्रियासहितको प्रसूति सेवा

बैशाख १२, डोल्पा – सदरमुकाम दुनैमा रहेको एक मात्र जिल्ला अस्पतालले शल्याक्रियासहितको प्रसूति सेवा दिन थालेपछि अस्पतालमा सुत्केरी गराउनेको सङ्ख्यामा वृद्धि भएको छ । अस्पतालले प्रसूति तथा स्त्रीरोग विशेषज्ञ चिकित्सक नै नियुक्ति गरेर शल्यक्रियासहितको प्रसुति सेवा शुरु गरेपछि सुत्केरी गराउने महिलाको सङ्ख्या बढेको हो ।

जिल्लामै जटिल अवस्था भएका गर्भवतीको पनि सफल शल्यक्रिया हुन थालेकाले विकट गाउँबस्तीबाट सुत्केरी गराउन आउने गरेका हुन् । अस्पतालले भरपर्दो सेवा सुविधा दिन थालेपछि सुरक्षित सुत्केरी गराउनकै लागि नेपालगञ्ज, काठमाडाँै, सुर्खेतलगायतका जिल्ला बाहिरका शहरमा जानुपर्ने अवस्था हटेको छ ।

मङ्सिरयता मात्रै ज्यानै जोखिममा परेका आठ गर्भवतीको सफल शल्यक्रिया गर्न सफल भएको प्रसूति तथा स्त्रीरोग विशेषज्ञ चिकित्सक शङ्करप्रसाद राउतले जानकारी दिए । एसएनसीयू र आइसीयूमा राख्नुपर्ने अवस्थामा मात्रै सुत्केरीको हेलिकोप्टरबाट उद्धार गर्ने गरिएको उनको भनाइ छ ।

दुनै बजारदेखि अस्पताल पुग्ने बाटो घुमाउँरो र साँघुरो हुँदा बिरामी ल्याउन लैजान एकदमै समस्या हुने गरेको अस्पतालले जनाएको छ । जटिल प्रकृतिको बिरामी भएमा घुमाउँरो बाटो हुँदै अस्पताल पु¥याउँदासम्म बिरामिको ज्यानसमेत जान सक्ने खतरा रहेकाले सिधैँ अस्पताल जोड्ने एक बेलिब्रिज पुलको टड्कारो अवाश्यकता रहेको अस्पतालले जनाएको छ ।