थप २ जनामा कोरोना संक्रमण, देशभर ८६ जना आइसोलेसनमा

बैशाख ११, काठमाडौं – नेपालमा कोरोना संक्रमितको संख्या ४७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुुसार बिहीबार २ जना कोरोना संक्रमित थपिएका छन् । जनकपुरका १४ वर्षीय पुरुष र उदयपुरकी ५५ वर्षीया महिलामा कोरोना पोजिटिभ पाइएको हो ।

बिहीबार मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले निको हुनेको संख्या ९ जना पुगेको बताए। पाटन अस्पतालमा उपचाररत पेप्सीकोलाका ५८ वर्षीय पुरुष र ८१ वर्षीया महिलाहरु निको भएर घर फर्केको उनले जनाएका हुन्।

बिहीबारसम्म नेपालमा आरडिटी विधिबाट ३४ हजार ५ सय २३ नमुना परीक्षण भएका छन् भने पिसिआर विधिबाट ९ हजार १ सय ९९ परीक्षणहरु भएका छन्। कुल दुवै विधिबाट ४३ हजार ७ सय २२ वटा परीक्षणहरु भएका छन्।

त्यसैगरी आजको अपडेटमा आइसोलेसनमा देशभरी ८६ जना रहेका छन्। काठमाडौँमा ४ जना आइसोलेसनमा छन् भने उपत्यका बाहिर ८६जना रहेका छन्। क्वारेन्टाइनमा १० हजार ५ सय २३ जना रहेका छन्।