क्यानाडामा अन्धाधुन्ध गोली प्रहार, १६ जनाको हत्या

बैशाख ८ –(रासस–एपी) – क्यानाडाको नोभा स्कटिया प्रान्तमा प्रहरीको वेशमा आएका एक बन्धुकधारीले अन्धाधुन्ध गोली प्रहार गरी आइतबार १६ जनाको हत्या गरेका छन् ।

प्रहरीका अनुसार कोरोनाभाइरसका कारण लकडाउन गरिएकाले मानिसहरु घरभित्र रहेकै समयमा ती व्यक्ति घरघरभित्र प्रवेश गरेर मानिसलाई गोली प्रहार गरेका र कतिपय घरमा आगो समेत लगाइदिएका थिए ।

क्यानाडाको इतिहासमा सबैभन्दा विभत्स मानिएको यस घटनामा संलग्न व्यक्ति पनि प्रहरी कारबाहीमा मारिएको प्रहरीले जनाएको छ ।

मारिएका व्यक्तिमध्ये एक जना प्रहरी अधिकृत पनि रहेका छन् । हेलिफ्याक्सबाट उत्तरतर्फ करिब १०० किलोमिटरको दुरीमा रहेको सानो ग्रामीण शहर पोर्टा्पिकमा उक्त घटना भएको हो । प्रहरीका अनुसार एउटा सानो घरभित्र र बाहिर सबैभन्दा बढी मानिसका शव भेटिएका थिए ।

घटनालगत्तै प्रहरीले स्थानीयवासीलाई घरभित्रै बस्न र घरका ढोकामा ताला लगाउन अनुरोध गरेको थियो । क्यानाडा सहित यो ठाउँ पनि कोरोनाभाइरस महामारीका कारण लकडाउनको अवस्थामा छ ।