कसरी हटाइयो जानकारी बिना मेडिकल सामग्री भ्रष्टाचारको समाचार ?

चैत २०, काठमाडौं – काठमाडौँबाट सञ्चालन हुँदै आएको अनलाइन काठमान्डु प्रेसबाट प्रकाशित महँगो स्वास्थ्य सामग्री खरिदमा रक्षामन्त्री र प्रधानमन्त्रीका सल्लाहकारका छोराको संलग्नता’ शिर्षकको समाचार बिना जानकारी हटाइएको बारे आपत्ति जनाएको छ ।
काठमान्डु प्रेस डट कमले नेपाली पत्रकारितामा आफूहरुले एउटा अनौठो पीडा भोग्नु परेको उल्लेख गरेको छ ।

बिहीबार सो अनलाइनका प्रधान सम्पादक कसमस बिश्वकर्माले विज्ञप्ति जारी गरेर वेबसाइट निर्माता कम्पनीकै मिलेमतोमा आफूहरुको सामग्री साइटबाट हटाइएको बताएका हुन् । उपप्रधानमन्त्री ईश्वर पोखरेल र प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार बिष्णु रिमालका छोरासहित प्रधानमन्त्रीका आइटी सल्लाहकार असगर अलि चिनियाँ सम्झौतामा दोषी रहेको दाबी काठमान्डु प्रेसले गरेको थियो।

प्रधान सम्पादक विश्वकर्माले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘बुधबार बिहान हाम्रो साइटको डेभलपमेन्ट र डिजाइनको काम गर्दै आएको शिरान टेक्नोलोजिज् प्रा. लि. को प्यारेन्ट कम्पनी एफ वान सफ्टका अध्यक्ष विश्वास ढकाल र सुवास शर्माले फोन गरेर–त्यो समाचार हटाइदिनुर्पयो, हामीलाई माथिबाट ठूलो दबाव आयो भन्ने अनुरोध गर्नुभयो  । हामीले प्रकाशित भएको समाचार हटाउन नमिल्ने, बरु समाचारका विषयमा कसैको केही भन्नु छ, खण्डन गर्नु छ भने लिखित रुपमा हामीलाई प्रतिक्रिया पठाउन आग्रह र्गयौँ।’

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘बिहान १०ः३० बजेतिर शिरान टेक्नोलोजिज्का प्रज्ज्वल महर्जनले फोन गरेर–त्यो समाचार त हटाउनैर्पयो, भन्नुभयो। उहाँलाई पनि हामीले समाचार हटाउन नमिल्ने जवाफ दियौं। र, साइटमा तलमाथि केही नगर्नुहोला भनेर सचेत गरायौं। त्यसको दुई मिनेटपछि समाचार साइटबाट हटाइयो।’

समाचार हटाइएपछि आफूहरुले ढकाल, शर्मा र महर्जनलाई पटकपटक फोन तथा म्यासेज गर्दा पनि कुनै प्रतिक्रिया नआएको प्रधान सम्पादक विश्वकर्माले बताएका छन्। समाचार हटाइएकोमा कानूनी प्रक्रियामा जान्छौं भनेपछि उनीहरुले फोन उठाएर ‘हामी हेर्छौं’ भनेको विश्वकर्माले उल्लेख गरेका छन्।

हटाइएको समाचार पुनः प्रकाशन गर्नुको सट्टा बुधबार दिउँसो करिब २ बजेदेखि ४ बजेसम्म समाचार अपडेट नै गर्न नमिल्ने गरी साइट ह्याक गरेको विज्ञप्तिमा उल्लेख छ। फेरि मेसेज गरेर त्यसमा पनि कानूनी उपचार खोज्ने जानकारी दिएपछि बल्ल समाचार प्रकाशन गर्न मिल्ने बनाएको प्रधानसम्पादक विश्वकर्माले बताएका छन्।

विज्ञप्तिमा उल्लेख गरिएको, ‘वेब डेभलपरले समाचार पोर्टलभित्र गएर कसैको बारेमा प्रकाशित समाचार हटाएको सायद यो नै पहिलो घटना होला। हामीले यस घटनालाई पत्रकारितालाई नियन्त्रणमा राख्ने र संविधानले सुनिश्चित गरेको प्रेस स्वतन्त्रता हनन् गर्ने गलत कदमको रुपमा लिएका छौं।’

चीनबाट मेडिकल सामग्री ल्याउने सम्झौताबारेको काठमान्डुप्रेसको उक्त विशेष रिपोर्टमा प्रधानमन्त्रीका आइटी सल्लाहकार असगर अलि, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालका छोरा क्षितिज रिमाल, उपप्रधानमन्त्री ईश्वर पोखरेलका छोरा प्रज्वल पोखरेलसहित चिनियाँ मेडिकल उपकरण सम्झौतामा दोषी रहेको दाबी गरेको थियो।

यसैबिच नेपाल पत्रकार महासंघले प्रधानमन्त्रीको सचिवालयबाट काठमान्डुप्रेस अनलाइनमा प्रकाशित समाचार हटाउन दबाब दिनुका साथै हटाउन नमानेपछि अनलाइनको सेवा प्रदायक कम्पनीलाई दबाब दिएर उक्त समाचार हटाइएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।