कनिकाको पाँचौं रिपोर्ट पनि पोजेटिभ, भन्छिन् परिवारलाई मिस गरिरहेकी छु ।’

चैच २०, एजेन्सी  – लखनउमा रहँदा कोरोना संक्रमित बनेकी बलिउड पार्श्व गायिक कनिका कपुर यतिबेला कोरोनासँग लडिरहेकी छिन् । कोरोना संक्रमण भएसँगै उनको लखनउको एक अस्पतालमा उपचार भइरहेको छ ।

कनिकाको पाँचौ रिपोर्ट पनि पोजेटिभ नै देखिएको चिकित्सकहरुलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।

डाक्टरले हरेक ४८ घन्टामा एक पटक कोरोना संक्रमितको रिपोर्ट परीक्षण गर्ने गर्छन् । कुनैपनि संक्रमितको रिपोर्टमा लगातार २ पटकसम्म नेगेटिभ देखिएमा उसलाई थप परीक्षण गराउने गरिँदैन । तर, कनिकाको भने पाँचौ पटक पनि रिपोर्ट पोजेटिभ नै आएको छ ।

तर, सामाजिक सञ्जालमा चर्चा भए जस्तै उनको स्वास्थ्य अवस्थालाई लिएर आत्तिनुपर्ने कुनै कारण नभएको चिकित्सकहरुले बताएका छन् ।

कनिकाले केही दिन अगाडि मात्र इन्स्टाग्राममा आफूले परिवारलाई निकै नै मिस गरेको र चाँडै नै घर जान चाहेको उल्लेख गरेकी थिइन् ।