चर्चित उपन्यास हंसमा हिंसाको बाछिट्टा

 

प्रसान्त कुमार वि.क.

काठमाडौ – यो लकडाउनको समय हो । यदि तपाई नेपाली साहित्यमा रुचि राख्नुहुन्छ भने पक्कै पनि सञ्जीव उप्रेतीको चर्चित उपन्यास हंस तपाईको हातमा छ । यो कल्पना र यर्थाथताको समिश्रण हो । आज म त्यही उपन्यास हंसमा हिंसाको सुक्ष्मरुपलाई कसरी पस्किएको छ भन्ने बारेमा लेख्दै छु । उपन्यासमा हाँसहरुले आफ्नो इतिहासका बारेमा चासो राखेका छन् । इतिहास पत्ता लगाउने क्रममा वर्तमान कति भयावह रहेछ भनेर थाहाँ पाउँछन । उपन्यासमा काका हाँसले लहडे हाँसलाई भन्छन, एकले मौका पाउँदा अर्कालाई निल्न खोज्दा रहेछन् । त्यही निलाइ र ठुँगाइको परिणाम रहेछ इतिहास । कार्ल मार्कसले पनि हाम्रो इतिहास वर्ग संर्घषको उपज हो भनेका थिए । हुँदा खाने वर्गले क्रान्ति मार्फत आफ्नो वर्चश्व जमाउँछ । क्रान्ति आवश्यक छ भन्नुको अर्थ कुनै न कुनै रुपमा हिंसा आवश्यक छ भन्नु हो । तर के हिंसा मानवीय स्वभाव हो वा कुनै देश, धर्म, संस्कृति भित्र निहीत हुन्छ? जे भए पनि, मानिसको कुनै पनि सिद्वान्त वा मान्यताले तपाईको यथार्थलाई परिवर्तन गर्न सक्दैन । के त्यसो भए हिंसा यर्थाथता हो ? सायद । आफ्नो बारेमा थाहा नपाउनु । थाहा पाई सकेपछि बोल्न नसक्नु । बोल्दा एक्लो भएर बाँच्नुको पिडा छ उपन्यासमा । हो, तपाई हामी यही अवस्थाबाट गुज्रेर गई रहेका छौ । तर काहाँ गईरहेका छौ त? उपन्यासमा काका हाँसले लहडे हाँसलाई भन्छ, “तिमी साँच्चै सुन्न चाहान्छौ, हराएका हाँसहरु काहाँ जाँदा रहेछन्?” लहडे हाँसले मन दह््रो गरेर सोध्यो, “हो सुन्न चाहन्छु…कहाँ जान्छन् ती हाँसहरु? के गर्छन…?” कुहिरोवीच काकाको चुचो र आँखा देखियो । गुच्चाजस्ता एकजोडी आँखाले हाँसतिरै हेरिरहेका थिए । “तिनलाई त मानिसले काट्दा पो रहेछन् ।” उपन्यासको डाइलग अगाडी बढ्छ जुन स्लोभानियका खतरनाक दार्शनिक स्लाभो जिइजेकको पुस्तक द करेज अफ होपलेसनेसको याद दिलाउँछ जहाँ छनौटको स्वतन्त्रता झुट्टा हो भन्ने कुरा विभिन्न रेफरेनन्स मार्फत दर्शाइएको छ । उपन्यासमा पनि हाँसहरुले खुकुरीलाई पर्खनु बाहेक अरु कुनै छनौट छैन । “पहिले घाँटीलाई अँठ्याएर अचानोमा राख्छन् ।”, काकाले जबाफ दिए,“अनि खुकुरी क्वैंक्कै । कसैले एकै मारमा घाँटी छिनाउँछन् । कसैले रेटीरेटी क्वैंक्क । कसैले हातैले घाँटी क्वाँकेर ठहरै ।” हिंसाको यस्तो वर्णनले जो कोही निसासिन सक्छ । हिंसा आफैमा भन्दा हिंसाको व्याख्या झन खतरनाक छ । ठ्याक्कै अहिले हामी बाँचेको समाज जस्तै । कोरोना भाईरसले भन्दा त्यसको डरले नागरिक मरि रहेका बेलामा राजनैतिक पार्टिका नेता, कर्मचारीहरु भ्रष्टाचार गर्नुहुदैन भनेर बाहीर बोर्ड झुण्डाएर भ्रष्टाचार गरे जस्तो । भ्रष्टाचार गरेपछि पनि शानसँग राष्ट्रिय पोशाक लगाएर चिल्ला मोटरमा हुईकिए जस्तो । हिप्पोक्रेसीको यो समयमा कसैले कसैलाई मार्नलाई गोली चलाउनु वा लाठीचार्ज गर्नु पर्देन मान्छे आफै होपलेस हुन्छ । विचारहरुको लकडाउन हुन्छ ।

त्यसो त उपन्यासको न्यारेसन नै जारको घाटी र झोलामा लुकाएको एघार इन्चे भोजपुरे खुकुरी बाट शुरु हुन्छ । उपन्यासको अधिकांश भागमा जारलाई मार्न बारम्बार त्यही खुकुरी निकाल्न खोजिएको हुन्छ । यसरी, हिंसालाई व्यक्त गर्न खोजेको तर व्यक्त गर्न नसकेको कुरा देखाएयर लेखकले सुक्ष्मरुपमा मनोवैज्ञानिक हिंसा गरेका छन् । त्यसैले हिंसा भनेको कुनै पनि वाहानामा कसैलाई मार्नु वा काटनु मात्र होइन अरुलाई आफ्नो विचारले प्रभाव पार्नुपनि हिंसा नै हो । अझ प्रेमको बाहनामा कसैलाई गरिने हिंसाको स्वरुप नै फरक हुन्छ । “म सधै दावी गर्थे, सीमालाई आफूभन्दा बढी माया गर्छु । तर थाहै नपाई मेरो प्रेम स्वामित्वमा रुपान्तरण भईसकेको रहेछ । मैले नै उसको अस्तित्ववरिपरि लक्ष्मणरेखा कोरेर उसलाई बन्दी बनाउँदै लगेछु ।” यहाँ हिंसा गरिरहेको कुरा स्वयम् ‘म’ पात्रलाई नै थाहा छैन, तर महशुस हुन्जेल धेरै ढिला भईसकेको हुन्छ । वियोण्ड भ्वाइलेन्समा जे.कृष्णमुर्ती भन्छन, हिंसा तलाउमा खसेको ढुंङ्गा जस्तै हो । छालहरु फैलियर ‘म’ को केन्द्र सम्म पुग्दछन् । जब सम्म ‘म’ कुनै पनि रुपमा बाँचीरहन्छ, तब त्यहाँ हिंसा हुन्छ । उपन्यासको ‘म’ पात्र सीमाको लोग्ने थियो । सीमालाई बन्दी त बनाउन सकेन तर आफूभने आफ्नै विचारको बन्दी भयो । प्रेमी कहिल्यै बन्न सकेन । प्रेमी बन्नलाई फराकिलो ह्दय चाहिन्छ । तर अचच्म के छ भने ‘म’ पात्र आफैमा एउटा लेखक हो, जो सुन्दर रचना गर्दछ, उ कसरी प्रेम र जीवनको विपक्षमा हुनसक्छ ? सायद यहि भएर होला जीवनका अन्तिम वसन्तहरु हामी एक्लै विताउन बाध्य हुन्छौ उपन्यासको बाजे बकुल्ला जस्तै जो उड्न सक्दैन । फेरी, पनि मनमा कसैको जोर चल्दैन । उ उडछ, डुब्छ आफैभित्रको संसारमा । अधिकांस मानिसहरु जस्तै उपन्यासका पात्रहरु प्नि अतितको स्मृति र भविष्यको कल्पना दुबैबाट मुक्त हुन सकेका छैनन् । ‘म’ को हु? भन्ने कुरा बुझनलाई अरुको भरपर्नु पर्ने । अरुले नै व्याख्या, विश्लेषण गर्नुपर्ने । जे भए पनि, उपन्यासका शब्दहरु पानीमा कोरीएका रेखाहरु जस्तै कोर्न नपाउँदै हराएका छन् । शब्दहरुले बनाएका दृश्यहरु हाँस, टौदह, मानसरोवर, आकाश, झरीले नुहाएका रुखहरु सबै हराएका छन् किनभने म केहि देख्न सक्दीन आँखामा आँसु छ ।