ईश्वर पोखरेलको नेतृत्वमा सिसिएमसी गठन गर्ने सरकारको निर्णय

चैत १७ काठमाडौं – सरकारले कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा ‘कोरोना क्राइसिस म्यानेजमेन्ट सेन्टर’(सिसिएमसी) स्थापना गर्ने भएको छ।

आइतबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले ‘सिसिएमसी’ स्थापना गर्ने निर्णय गरेको सरकारका प्रवक्तासमेत रहेका अर्थ एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री युवराज खतिवडाले जानकारी दिए।

उपप्रधान तथा रक्षामन्त्री पोखरेल संयोजक रहने गरी स्थापना गरिने सिसिएमसीमा गृहमन्त्री, अर्थमन्त्री, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री र सुरक्षा निकायका प्रमुख रहने मन्त्री खतिवडाले जानकारी दिए।

सिसिएमसीले सरकारले जारी गरेको आदेश कार्यान्वयन गराउने, क्वारेन्टाइन र कोरोना संक्रमितको उपचारका लागि तयार पारिएका अस्पतालहरुको व्यवस्थापन गर्ने पनि मन्त्री खतिवडाले बताए।