युट्युबमा प्रियंका र आयुष्मानको ’प्रेम दिवस’

चैत ९, काठमाडौं चलचित्र ’प्रेम दिवस’ अनलाइन रिलिज भएको छ । रियल लाइफ जोडी प्रियंका कार्की र आयुष्मान देशराज जोशी अभिनीत यस चलचित्र युट्युबमा शुक्रवार सार्वजनिक गरिएको हो ।

त्रिकोणात्मक प्रेमकथामा आधारित चलचित्रमा प्रियंका कार्की, आयुष्मान देशराज जोशी र विशाल खरेलका अलावा हेमन्त बुढाथोकी, शिव शङ्कर रिजाल, उत्तम केसी, सञ्जय न्यौपाने, श्रीकृष्ण लुइँटेललगायतका कलाकारहरूको पनि अभिनय रहेको छ ।

योगेश घिमिरेले निर्देशन गरेको चलचित्रलाई मनेश दाहालले निर्माण गरेका हुन् । एक युवतीले गरिब र धनी युवकसँग प्रेम गर्दा आइपर्ने विषयमाथि बनेको चलचित्र को कथा, पटकथा तथा संवाद प्रदीप भारद्वाजले लेखेका हुन् ।

चलचित्रका गीतका भिडियोहरुमा कविराज गहतराजले कोरियोग्राफी गरेका छन् । रोशन श्रेष्ठको द्वन्द्व निर्देशन रहेको चलचित्रलाई बनिष शाह र मिलन श्रेष्ठले सम्पादन गरेका हुन् । ‘प्रेम दिवस’मा मानकृष्ण महर्जनको छायाङ्कन रहेको छ ।