इटालीमा कोरानाका कारण मृत्यु हुनेको सङ्ख्या १ हजार ८०९ पुग्यो

चैत्र ३, एजेन्सी – विश्व स्वास्थ्य संगठनले महामारी भाइरसको संज्ञा दिएको कोरोनाबाट इटालीमा मृत्यु हुनेको सङ्ख्या आइतबारसम्म एक हजार ८०९ पुगेको छ ।

विगत २४ घण्टामा थप ३६८ जनाको ज्यान गएको भने ३ हजार५९० जना नयाँ बिरामी थपिएका छन् ।

स्वास्थ्य अधिकारीहरुले दिएको जानकारी अनुसार सङ्क्रमितको सङ्ख्या २४ हजार ७ सय ४७ पुगेको छ । २० हजार ६०५ जना उपचार गराइरहेका छन् ।

त्यसैगरी बेलायतमा पनि बिरामीको सङ्ख्या एक हजार ३९१पुगेको छ । बेलायतमा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या भने ३५ पुगेको अधिकारीले जनाएका छन् ।

पछिल्लो पटक मृत्यु भएका दश जनामध्ये सबै ६० वर्षभन्दा बढी उमेरका रहेको बेलायती स्वास्थ्य तथा सामाजिक हेरचाह विभागले जनाएको छ ।

चीनमा तीन हजार १९९ जनाको मृत्यु भएको छ भने ८० हजार ८४४ जना सङ्क्रमित भएका छन् । चीनमा कोरोनाको सङ्क्रमणमा नाटकीय रुपमा सुधार आएसँगै शहर बजारको आवतजावत खुकुलो पारिएको र उद्योग, कलकारखाना खुल्न थालेका छन् ।

तेस्रो धेरै प्रभावित हुनेमा इरान परेको छ । इरानमा १२ हजार ७२९ जना सङ्क्रमितमध्ये ६११ जनाको मृत्यु भएको छ ।

त्यसैगरी दक्षिण कोरियामा आठ हजार १६२ जना बिरामी र ७५ जनाको मृत्यु भएको छ भने स्पेनमा छ हजार ३९१ जना बिरामी भएका छन् भने १९६ जनाको मृत्यु भएको छ ।

हालसम्म १५७ देशमा फैलिसकेको कोरोनाबाट झण्डै १ लाख ७५ हजार मानिस सङ्क्रमित भएका छन् भने ७६ हजारभन्दा धेरै उपचारपछि निको भएका छन् । ६ हजार ५ सय जनाको ज्यान गैसकेको छ । सिन्ह्वा