जिपी कोइराला उपचार केन्द्रमा आइसोलेसन कक्ष

चैत ३, दमौली – तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला राष्ट्रिय स्वासप्रस्वास उपचार केन्द्रले कोरोना भाइरसको शङ्कास्पद बिरामीको उपचार गर्न आइसोलेसन कक्ष स्थापना गरेको छ ।

अस्पतालमा २० श्ययाको आइसोलेसन कक्ष निर्माणको तयारी अन्तिम चरणमा पुगेको केन्द्रका कार्यकारी निर्देशक डा रामकुमार श्रेष्ठले जानकारी दिए । अस्पतालको भवनभित्र एउटा कोठामा आइसोलेसन कक्ष निर्माण भइरहेको छ”, उनले भने केही दिनभित्रै सबै काम सकिन्छ ।”

सो कक्षमा सो भाइरसका शङ्कास्पद बिरामीको उपचार गर्ने, खकार र सिङ्गानको नमूना सङ्कलन गरेर केन्द्रमा पठाउने व्यवस्था मिलाइने निर्देशक डा श्रेष्ठले जानकारी दिनुभयो । कोरोनाको विश्वव्यापी सङ्क्रमणलाई मध्यनजर गरेर स्थानीयस्तरमा पूर्वतयारीस्वरुप आइसोलेसन कक्ष स्थापना गरिएको बताइएको छ ।

गण्डकी प्रदेश सरकारले यहाँसहित पोखराका पाँच अस्पतालमा आइसोलेसन कक्ष स्थापना गरेको छ । पोखराका चार अस्पतालमा ७० श्ययाको आइसोलेसन कक्ष स्थापना गरिएको छ । मणिपाल शिक्षण अस्पतालमा १५, गण्डकी मेडिकल कलेजमा १५, चरक अस्पतालमा ३० र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १० श्ययाको आइसोलेसन कक्ष स्थापना भएको बताइएको छ ।