केन्द्रीय कारागार – छ वटा नयाँ भवन निर्माण हुँदै

चैत १,काठमाडौ – नेपालकै सबैभन्दा ठूलो र पुरानो केन्द्रीय कारागार हाताभित्र छ वटा नयाँ भवन बन्ने भएको छ ।

विसं १९७१मा स्थापना भएको केन्द्रीय कारागार जगन्नाथदेवलका पुराना भवनमा कैदीबन्दी राख्दा समस्या उत्पन्न हुँदै गएपछि छ वटा नयाँ निर्माण गर्न लागिएको हो । केन्द्रीय कारागार कार्यालयका प्रमुख लक्ष्मीप्रसाद बाँस्कोटाले सरकारले छ वटा भवन निर्माण गर्ने लक्ष्य राखेपनि तीनवटा भवन निर्माणकार्य भइरहेको बताए ।

दुई वर्षमा छ वटै भवन निर्माण सम्पन्न गर्ने लक्ष्यअनुसार तीनवटा भवन निर्माणकार्य भइरहेको छ, बाँकी तीनवटा भवनपनि चाँडो निर्माण गर्ने तयारीमा छौँ”, उनले भने ।

भ्याटबाहेक रु ३८ करोड लागतमा निर्माण गर्ने लक्ष्य राखिएको उक्त कारागारका प्रत्येक भवन चारतल्ले हुनेछन् । यस्तै, तीन हजार कैदीबन्दी सजिलैसँग अट्नेगरी भवन निर्माण गर्न लागिएको छ । उक्त भवन निर्माणको जिम्मा विकोई किराँतेश्वर जेभीले लिएको छ ।

केन्द्रीय कारागार कार्यालय भवन १९५० को दशकमा निर्माण भएको थियो । विस २०७२ वैशाख १२ गते गएको विनाशकारी भूकम्पले केन्द्रीय कारागार भवनमा क्षति पुगेको थियो । बयालिस रोपनी क्षेत्रफलमा निर्माण भएको कारागारमा केन्द्रीय भवन र महिला गरी तीनवटा जेल रहेका छन् ।

कारागारमा हाल तीन हजार ३०८ कैदीबन्दी छन् । जसमध्ये, केन्द्रीय जेलमा एक हजार ९७२, भद्र जेलमा ९२३ र महिला जेलमा ४०२ कैदीबन्दी छन् । यस्तै कारागारभित्र ११ जना नावालकसमेत रहेको प्रमुख बास्कोटाले बताए ।

कारागार व्यवस्थापन विभागले गरेको सर्वेक्षणअुनसार केन्द्रीय कारागारको क्षमता एक हजार ४५० भएपनि हाल दोब्बरभन्दा धेरै कैदीबन्दी बस्दै आएका छन् । धेरै कैदीबन्दीलाई एकैठाउँमा राख्दा अधिकांश कैदीबन्दी बिरामीसमेत हुने गरेका छन् ।

काठमाडौँको डिल्लीबजारसमेतमा अर्को जेल रहेको कारण महिला कैदीबन्दी भने केन्द्रीय कारागारमा मात्र राखिँदै आएको छ । केन्द्रीय कारागार परिसरभित्र कैदीबन्दीको उपचारका लागि अस्पतालसमेत सञ्चालनमा आएको छ ।

कूल ३० श्यया क्षमता रहेको उक्त अस्पतालमा छाला, मधुमेह, जण्डिस, श्वासप्रश्वास, फोक्सोको समस्या, हातगोडा पाक्ने र सुनिनेलगायतका रोगको उपचार हुँदै आएको छ ।

यस्तै, कैदीबन्दीको अध्ययनका लागि तीनवटा विद्यालय पनि कारागारभित्र सञ्चालित छन् । कक्षा एकदेखि आठसम्म पढाई हुने बन्दी आधारभूत विद्यालय, कक्षा एकदेखि पाँचसम्म पढाई हुने महिला बन्दी विकास आधारभूत विद्यालय र कक्षा एकदेखि १२सम्म पढाई हुने जगन्नाथ माध्यामिक विद्यालय रहेका छन् ।

उक्त विद्यालयमध्ये बन्दी आधारभूत विद्यालय भद्र जेल, महिला बन्दी विकास आधारभूत विद्यालय महिला जेल र जगन्नाथ मावि केन्द्रीय जेलमा सञ्चालित छन् । कैदीबन्दीको रोजगारीका लागि केन्द्रीय कारागारभित्र कारागार कारखानासमेत स्थापना गरिएको छ ।

कारागार व्यवस्था विभागका अनुसार हाल मुलुकभर ७२ जिल्लामा ७४ कारागार छन् । काठमाडौँ र दाङमा दुई÷दुई वटा कारागार छन् । काठमाडौँमा केन्द्रीय कारागार जगन्नाथदेवल र डिल्लीबजार कारागार तथा दाङमा घोराही र तुल्सीपुर दुई स्थानमा कारागार रहेका छन् ।

धनुषा, बारा र भक्तपुरमा अहिलेसम्म पनि कारागार छैन । नयाँ स्थापना भएका दुई जिल्ला नवलपरासी पश्चिम र रुकुम पश्चिममा पनि कारागार छैन । विभागका अनुसार हाल देशभर २५ हजारको हाराहारीमा कैदीबन्दी रहेका छन् ।

रासस