अझै आठ प्रतिशत बालबालिकाले पूर्ण खोप पाएनन्

फागुन २७, काठमाडौं – सुदूरपश्चिम प्रदेशमा नौ महिनादेखि पाँच वर्षमुनिका करिव दुई लाख ८४ हजार ७६२ बालबालिकालाई दादुरा–रुवेलाविरुद्धको खोप लगाइने भएको छ ।

क्षेत्रीय स्वास्थ्य निर्देशनालय दिपायल राजपुरले दिएको जानकारीअनुसार यसका लागि आगामी चैत १ गतेदेखि ३० गतेसम्म प्रदेशका नौ वटै जिल्लामा खोप अभियान सञ्चालनमा हुने छन् ।

अभियानमा पाँच हजार २०० खोप केन्द्र र नौ हजार ३०० स्वयंसेवकसमेत परिचालन गरिने जनाइएको छ । अभियान अन्तर्गत डोटीमा करिव २४ हजार ५५० बालबालिकालाई दादुरा–रुवेलाविरुद्धको खोप लगाइने जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख रमेश मलासीले जानकारी दिए ।

अगामी चैत १ गतेदेखि पहिलो चरणमा जिल्लाका वोगटान फुड्सिल, जोरायल, बडिकेदार र केआइसिंह गाउँपालिकामा सञ्चालन गरिने छ । त्यस्तै चैत १६ देखि दोस्रो चरणअन्तर्गत दिपायल सिलगढी, शिखर नगरपालिका , पूर्वीचौकी, आदर्श र सायल गाउँपालिकाका बालबालिकालाई खोप लगाइने कार्यक्रम तय भएको उनले जानकारी दिए ।

कूल ५११ खोप केन्द्र, १२६ स्वास्थ्यकर्मी र एक हजार २२ स्वयंसेवक परिचालन गरिने जनाइएको छ । ढुक्क साथ आफ्ना बालबालिकालाई दादुरा–रुवेलाविरुद्धको खोप लगाउन जिल्ला अस्पताल डोटीका डा ज्योति पाण्डेले आग्रह गरेका छन् ।

रासस