करिश्माको होली खर्च स्वर्गीय भट्टराई परिवारलाई सहयोग

फागुन, २० काठमाडौं । अभिनेत्री करिश्मा मान्धरले प्रत्येक वर्ष फागु पूर्णिमा विशेष रुपमा मनाउने गरेकी छिन् । उनले हरेक वर्ष सबै कलाकारलाई आफ्नै घर गोदावरीमा निम्ताएर यो पर्व मनाउदै आएको लामो समय भैसक्यो । तर, यो वर्ष उनले होली विशेष कार्यक्रमको आयोजना नगर्ने भएकी छिन् । चीनबाट सुरु भई विश्वका विभिन्न मुलुकमा फैलिरहेको ‘कोरोना भाइरसको सङ्क्रमण’का कारण उनले यो वर्ष होली नमनाउने भएकी हुन् ।

होली नमनाएपनि होलीमा खर्च हुने १ लाख १ सय १ रुपैयाँ स्वर्गीय केशवराज भट्टराईको परिवारलाई सहयोग स्वरुप हस्तान्तरण गरेकी छिन् । करिष्मा र उनका श्रीमान् विनोद मानन्धरले चलचित्र निर्देशक समाज मार्फत उक्त सहयोग रकम हस्तान्तरण गरेका छन् । निर्देशक दिपाश्री निरौलाको हातमा उक्त रकम हस्तान्तरण गरिएको हो ।

यसैबीच, स्वर्गीय केशव भट्टराईको परिवारलाई अमेरिकामा रहेका निर्देशक नारायण पुरी, गोपालचन्द्र लामिछाने, दिनेश कार्की, किशोर सुब्बा, अक्की शर्मा, यादव सिलवाल, विसी फुयाँल र सुमन दाहालले पनि सहयोग रकम पठाएका छन् । उनीहरुले १ लाख २६ हजार ५ रुपियाँ चलचित्र निर्देशक समाज मार्फत स्व.भट्टराईको परिवारलाई सहयोग गरेका हुन ।