मैले पुरुषमाथि हिंसा भएका सुनेकी छु : रेखा थापा

माघ, २५ काठमाडौं ।

चलचित्र क्षेत्रमा महिला कलाकारहरूमाथि दुव्र्यवहारको अवस्था कस्तो छ ?
महिलाहरूमाथि शोषण नभएको कुनै क्षेत्र छैन होला । चलचित्र क्षेत्रमा पनि कुनै न कुनै रूपमा महिलाहरू शोषित हुनुभएको होला । तर, राम्रो पृष्ठभूमि बनाएर, फाइटर शैलीमा आउने हो भने तपाईंलाई कसैले केही गर्न सक्दैन । आफैं कमजोर हुनुभयो भने जो–कोहीले शोषण गर्न खोज्छ । त्यस्तो शोषणबाट बच्न आफैं बलियो हुनुपर्‍यो, शिक्षित हुनुपर्‍यो ।

क्षमता नभएर पो महिला कलाकारहरू शोषित हुन्छन् भन्न खोज्नुभएको हो ?
क्षमता नभएका महिला मात्र होइन, पुरुष कलाकारहरू पनि शोषित भइरहेको पाएकी छु । क्षमतावान् महिला कलाकारहरूलाई कसैको दबाब, शोषण खेप्नु पर्दैन । शोषण हरेक ठाउँमा छ, तर सबैभन्दा तल्लो लेभलको कुरा मात्र सार्वजनिक हुन्छ । प्रतिष्ठित व्यक्तिहरूको जीवनमा त्यस्ता घटना अझ बढी घटिरहेका होलान्, तर चुप लागिन्छ । गुपचुपमा समाधान गरिन्छ । बाहिर आउने कुरा भनेको त सानो वर्गको मात्र हो ।

चलचित्रमा पुरुष पीडित छन् भन्नुभयो, कसरी ?
हो, मैले त महिला होइन पुरुषमाथि हिंसा भएका सुनेकी छु । महिला कलाकारहरूले पुरुष कलाकारलाई माथि उक्लने भर्‍याङ बनाएर शोषण गरेको सुनेकी छु । कतिपय पुरुष निर्माता अभिनेत्रीबाट शोषित भएको सुन्न पाइएको छ । विगतमा मैले पुरुषहरूका लागि आवाज उठाएकै हो ।

चलचित्र क्षेत्रमा महिलाहरू पीडित छैनन् त ?
शोषणमा पर्दै परेका छैनन् भन्दिनँ । शोषणमा परेका छन् । त्यसलाई कसरी लिने भन्ने कुरा महत्त्वपूर्ण हो । यही क्षेत्रमा करियर बनाउन बाध्य भएर आफ्नो सौन्दर्यलाई प्रयोग गर्नुपर्ने अवस्था पनि छ । वास्तवमा यो गलत हो । यदि तपाईं सौन्दर्यको प्रयोग नगरी आफ्नो क्षमताले चलचित्र क्षेत्रमा टिक्न चाहनुहुन्छ भने आफूलाई सक्षम र सबै प्रकारले योग्य बनाउनुपर्छ । त्यसपछि तपाईंलाई कसैले छुने हिम्मत समेत गर्दैन । चलचित्र पनि समाजकै अंग हो । मैले सबै महिला कलाकारहरू हरेक तरिकाले सुरक्षित छन् नै भन्न खोजेको होइन । तर, उनीहरूमाथि शारीरिक शोषण भइरहेको छ भन्ने कुरा सुनेको भरमा विश्वास गर्ने कुरा पनि आएन । आँखैले देख्नुपर्‍यो नि । बाहिर चलेजस्तो पनि नहोला । चलचित्र क्षेत्रमा कोही न कोही कुनै न कुनै सम्बन्धमा गाँसिएका हुन्छन् । कसैकी श्रीमती, कसैकी दिदी, कसैकी साली अर्थात् कुनै न कुनै सम्बन्धमा बाँधिएका महिला कलाकारहरू छन् । आउट अफ द बक्स आउने महिला कलाकार कम भएकाले त्यस्तो धेरै समस्या नहोला ।