कोरोनाभाइरस महामारीको पहिलो चेतावनी दिने चिकित्सकको मृत्यु

माघ, २४ काठमाडौं ।  कोरोनाभाइरस संक्रमणको महामारीको पहिलो चेतावनी दिने चिनियाँ चिकित्सकको सोही भाइरसका कारण मृत्यु भएको छ । ३४ वर्षीय ली वेनलियान्गको उपचारका क्रममा मृत्यु भएको हो । वुहान केन्द्रीय अस्पतालमा काम गर्ने क्रममा उनलाई कोरोनाभाइरसको संक्रमण भएको थियो ।

उनले गत डिसेम्बरमा आफ्ना साथी डाक्टरहरूलाई भाइरस संक्रमणको महामारीको चेतावनी दिएका थिए । त्यसपछि प्रहरीले उनलाई झूटो विवरणहरू नदिन भनेको थियो ।
चिनियाँ अखबार पिपुल्स डेलीले उनको स्थानीय समयअनुसार शुक्रबार बिहान २स्४८ बजे मृत्यु भएको जनाएको छ ।

चीनको राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार कोरोनाभाइरसका कारण हालसम्म चीनमा ६३६ जनाको मृत्यु भइसकेको छ भने ३१ हजार एक सय ६१ जनामा यो संक्रमण भेटिएको छ ।
संक्रमणबाट बिहीबारमात्रै ७३ जना को मृत्यु भएको थियो ।