वरिष्ठ पत्रकार दुर्गानाथ शर्माको निधन

माघ २२, काठमाडौं -[नेपाल टेलिभिजनका पूर्वमहाप्रबन्धक तथा वरिष्ठ पत्रकार दुर्गानाथ शर्माको निधन भएको छ । शर्माको उपचारका क्रममा बुधबार बिहान ११ बजे मनमोहन अस्पतालमा निधन भएको हो । २४ वर्षअगाडि ओपन हार्ट सर्जरी गरेका उनलाई इन्फेक्सनको समस्या भएपछि सुरुमा गंगालाल अस्पताल भर्ना गरिएको थियो ।

गंगालालमा ५ दिन उपचार गरी उनलाई हिजो राति ८ बजे मात्र मनमोहन अस्पतालमा भर्ना गरिएको थियो । मनमोहन अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार गर्दागर्दै आज बिहान निधन भएको उनका दाजु फिल्म निर्देशक तथा लेखक लक्ष्मीनाथ शर्माले पुष्टि गरे ।

२००४ सालमा इलाममा जन्मिएका शर्माले लामो समयसम्म नेपाल टेलिभिजनमा समाचार वाचन गरेका थिए ।