सार्वजनिक सेवाको प्रभावकारिता

दामोदर रेग्मी

राज्य र जनतावीचको सम्बन्धको अभिव्यक्ति हुने प्रमुख माध्यम सार्वजनिक सेवा हो त्यसैले सार्वजनिक सेवाको सर्वसुलभता राज्यको प्रमुख दायित्व हो । राज्यको यसै विशिष्ट दायित्वको आधारमा राज्य र जनताको सम्बन्ध स्थापित भएको हुन्छ । यसै सम्बन्धको कारणले राज्यको पहिलो दायित्व सेवा प्रवाहको प्रभावकारिता अभिवृध्दि गर्ने रहेको हुन्छ ।सरकारको भूमिका मूलतः लोक कल्याणकारी राज्यको सिध्दान्तमा आधारित हुने भएकोले सेवा प्रवाहका उपरोक्त आधारशीला अनुरुपको सेवा प्रवाहको संयन्त्रको आवश्यकता पर्ने गर्दछ । सेवा प्रवाहको प्रभावकारिताको स्तरले सरकारको लोकप्रियताको स्तर निर्धारण गर्ने गर्दछ ।

सार्वजनिक सेवा प्रवाहमा दक्षता र प्रभावकारिताको स्तरले सुशासनको सही अवस्थाको चित्रण गरेको हुन्छ । सरकार सार्वजनिक सेवा प्रवाहको अपरिहार्य र आवश्यकीय अंग हो । यसर्थ जनताप्रति प्रवाह गर्नु पर्ने सेवा सुविधाहरु सरकारले आफ्नो प्रशासनिक संयन्त्रको परिचालनबाट गर्नेे गर्दछ । सरकारी सेवा सुविधाको प्रवाहको मूलभूत स्थायी संयन्त्र तथा जन आकांक्षाहरुलाई नीति निर्माणको लागि जनताबाट पृष्ठपोषण प्राप्त गरी सरकार समक्ष पु¥याइदिने सम्वाहकको रुपमा सार्वजनिक प्रशासनको भूमिका अति नै महत्वपूर्ण रहने गर्दछ । सरकार जनताका सवै अपेक्षाहरु पूरा गर्ने महत्वपूर्ण अंग हो । सार्वजनिक सेवा प्रवाहको अवधारणाले जनताका गर्भ देखि चिहान सम्मका सवै आवश्यकतालाई प्रभावकारी सेवा प्रवाहका संयन्त्रव्दारा पूरा गरिनु पर्दछ

सेवा प्रवाहको संयन्त्र जहिले पनि सेवाग्राही मैत्रीय हुनु आवश्यक हुन्छ । यो अवस्थाको प्रत्याभूतिका लागि भौतिक रुपमा जनताको नजीकमा संस्थागत पहुंच हुनु आवश्यक हुन्छ ।भौतिक पहुंचमा पनि विविध अवरोधहरु रहन सक्दछन् अर्थात भौतिक पहुंचलाई एकातर्फ सेवा प्रवाहमा विद्युतीय प्रणालीको प्रयोग गरेर फाराम पेश गर्ने, सेवाको माग गर्ने, रकम बुझाउने जस्ता कार्यहरु सेवाग्राहीले सेवा प्रवाहको स्थलमा धाउनु पर्ने प्रक्रियाको अन्त्य गर्न सकिन्छ । यसको साथै सेवाग्राहीकै भौतिक उपस्थिति हुनु पर्ने अवस्थामा सूचना प्रविधिको प्रयोगले कागजातको संकलन, अन्तरशाखा कागजातको प्रमाणीकरण, विभिन्न पदाधिकारीहरुवाट स्वीकृति प्रदान जस्ता धेरै समय लाग्ने गरेका प्रक्रियात्मक पक्षहरुलाई एकल सेवा विन्दूवाट छोटो समयमा सेवा उपलब्ध गराउन सकिन्छ ।

सेवा प्रवाहको अर्को महत्वपूर्ण आयाम भनेको सेवाको उपलब्धतामा प्रक्रियागत, समयगत, समय र मूल्यका लागत वारे सेवाग्राही जानकार रहनु वा पारदर्शिताको प्रत्याभूति हुनै पर्दछ । यसको लागि व्यवहारिक, कार्यान्वयनयोग्य र विश्वसनीय पारदर्शी संयन्त्रको रुपमा नागरिक बडापत्र वा सेवाग्राही बडापत्र को प्रयोग गर्न सकिन्छ । सूचनाप्रविधियुक्त र नागरिक बडापत्रको व्यवस्थाले सार्वजनिक सेवा प्रवाहमा सहजता , पारदर्शिता र उत्तरदायित्वको सुनिश्चितता गरेको हुन्छ ।

प्रशासनयन्त्र सरकारको मूल सहयोगी र कार्यकारी संयन्त्र हो । स्थायी सरकारको रुपमा रहेर प्रशासनयन्त्रले सरकारका नीति नियमको कार्यान्वयन, सरकार समक्ष आएका जनताका चाहना, सरकारले जनता समक्ष पुर्याउनु पर्ने सेवा सुविधालाई सरल र सहज तरीकाले पु¥याउनु यसको प्रमुख दायित्व हो । यसका लागि कर्मचारीहरुमा सरकारी नीति र कार्यक्रम प्रति अपनत्वबोध र कार्यान्वयनमा तदारुकता र दृढ ईच्छाशक्ति हुनु आवश्यक छ ।

( दामोदर रेग्मी प्रशासन, व्यवस्थापन र संघीयताका विषयका विश्लेषक तथा कुशल प्रशिक्षक हुन् ।)