माघ १९, काठमाडौं – नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राजनितीले भन्दा साहित्यले मानिसलाई बढी संवेदनशिल बनाउने बताएका छन् ।
राजधानीको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा शनिबार आयोजित साहित्यकार सर्वज्ञ वाग्लेको उपन्यास कृति पुनर्वासको विमोचन कार्यक्रममा उनले यस्तो बताएका हुन् । कार्यक्रममा पौडेलले मानिसभित्रको संबेदनालाई जागृत गराउने काम साहित्यले गर्ने हुँदा यो राजनिती भन्दा फरक र जिवन्त विषय भएको बताए ।
वरिष्ठ साहित्यकार कृष्ण धराबासीले कृतिमाथि टिप्पणी गर्दै यसमा भएका कमीकमजोरी औंल्याए । यद्यपी उपन्यासमा प्रयोग गरिएका प्रकृतिसँग, मानव जीवनसँग र अन्य उपयोगी बिम्बहरुले पुनर्वासलाई निकै रोचक बनाएकाले यो उत्कृष्ठ कृति बनाउन साहित्यकार सफल भएका धराबासीले बताए ।
यस्तै राष्ट्रिय सभाकी सांसद इन्दु कँडरियाले पनि प्रस्तुत कृति काल्पनिक नभएर यथार्थतामा आधारित भएकाले यसले कञ्चनपुरको पुनर्वासको झल्को उतारेको र त्यहाँका नागरिकलाई न्याय दिलाएको बताइन् । शिखा बुक्सले उपन्यास पुनर्वासलाई बजारमा ल्याएको हो ।
