माघ १९, काठमाडौं – नेपाल प्रहरीले पेस्तोल, चक्कु र लागुऔषधसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
शनिबार साँझ जिल्लाको बर्दघाट नगरपालिका–९ भूताहास्थित भित्री सडकखण्डबाट इलाका प्रहरी कार्यालय बर्दघाट र प्रहरी चौकी बासाबाट खटिएको टोलीले भारत महाराजगञ्जको कोतवाली बस्ने ४० वर्षीय नासिन अलि र सोही स्थानका ३० वर्षीय धर्मेन्द्र गौडलाई पक्राउ गरेको हो ।
भूताहाको भित्री सडकमा भारतबाट आउँदै गरेको युपी५३भी २५०० नंका मोटरसाइकललाई शङ्कास्पद जाँच गर्ने क्रममा चालक अलिको बायाँ खुट्टाको मोजामा फलामको १०.५ इञ्च लामो धारिलो चक्कु र सोही मोटरसाइकलमा सवार गौडको बायाँ खुट्टामा एक थान कटुवा पेस्तोल र गोली पाँच राउण्ड लुकाइछिपाई राखेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरीले गौडले बोकेको झोलाबाट फेनरागन १०० थान, डाइजापाम १०० थान, नोफिन १०० थान, ओनरेक्स ६० वटा प्रतिबोत्तल १०० मिलीलिटर, फेन्साडिल २८ प्रतिबोत्तल १०० मिलीलिटर लागुऔषध पनि बरामद गरेको छ । बरामद भएका हातहतियार, लागुऔषध र मोटरसाइकलसहित दुवैलाई आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।
