के हो फिस्टुला? कसरी बच्ने ?

माघ १७, काठमाडौं – फिस्टुला शरीरको कुनै पनि भित्री अंगमा पर्ने अनावश्यक प्वाल हो । महिलाको पाठेघरमाथि पिसाबथैली र तलपट्टि दिसाथैली हुन्छ। बच्चा जन्माउने ब्यथा लाग्दा पाठेघरको मुख पातलो हुन्छ। बच्चाको टाउको पाठेघरको मुख हुँदै योनीमार्गको तल्लो भागमा आउँछ ।

फिस्टुला किन हुन्छ ?
फिस्टुला हुनुको मुख्य कारण लामो समय व्यथा लाग्नु र योनीमार्गमा बच्चाको टाउको धेरै बेरसम्म रहनु हो । त्यसैले गर्भवती भएको बेलामा नियमित स्वास्थ्य परीक्षण गराइरहनुपर्छ ।
– बच्चा जन्माउने व्यथा लागेपछि तालिमप्राप्त स्वास्थ्यकर्मीले बच्चा नजन्माएमा,
– न्यून आर्थिक स्थिति र कामको बोझका कारण,
– बालविवाह, बलात्कारलगायत अन्य प्रकारका लैङ्गिक विभेदमा परेका महिलाले आवश्यक स्वास्थ्य उपचार र परामर्श सेवाको अभावमा,

यसका लक्षणहरु
– योनीबाट निरन्तर पिसाब, दिसा चुहिनु
– योनीमार्गको भागमा रक्तसञ्चार बन्द हुनु
– रक्तसञ्चार बन्द भएको भागको कमलो मासु मरेपछि त्यहाँ प्वाल पर्छ

रोकथामका उपाय
– सानै उमेरमा विवाह नगरिदिने,
– सानो उमेरमाबच्चा नजन्माउने,
– बालिकालाई खानामा विभेद नगर्ने,
– किशोरावस्थामा विकासका लागि आवश्यक पर्ने सन्तुलित आहारमा विशेष ध्यान दिने,
– गर्भवती महिलालाई पर्याप्त मात्रमा सन्तुलित खाना खुवाउने,
– गर्भवती जाँच नियमित रुपमा कम्तीमा ४ पटक गर्ने,
– गर्भवतीको श्रीमान् तथा परिवारका सदस्यले गर्भावस्था र प्रसवको समयमा आवश्यक पर्ने सम्पूर्ण व्यवस्थाको पूर्वतयारी गर्ने,
– सुत्केरी व्यथा लाग्नासाथ स्वास्थ्य संस्थामा लगेर तालिम प्राप्त स्वास्थ्यकर्मीको सहयोगमा बच्चा जन्माउने,