नोवेल कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या १०६ पुग्यो

माघ १४, काठमाडौं – चीनमा नोवेल कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या १०६ पुगेको छ । ४,००० जना भन्दा बढीमा संक्रमण पुष्टि भएको चीनका अधिकारीहरुले बताएका छन् ।

चीन बाहिर जर्मनी, फ्रान्स, नेपाल, अमेरिका, अस्ट्रेलियासहितका देशमा गरी कम्तिमा ४६ जनामा संक्रमण पुष्टि भएको छ । अहिलेसम्म चीन बाहिर कसैको पनि नोवेल कोरोना भाइरसका कारण मृत्यु भएको छैन ।

सोमबार बेइजिङ्गमा एकजनाको मृत्यु भएको पुष्टि भएको हो । चीनको राजधानीमा कोरोना भाइरसका कारण मृत्यु हुने ५० वर्षका पुरुष पहिलो व्यक्ति हुन् ।

चीनमा नोवेल कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या ४ हजार भन्दा बढी पुगेको संगठनले जनाएको छ । संक्रमित मध्ये ४६१ जनाको अवस्था गम्भीर रहेको छ । ५१ जना निको भएर घर फर्किएका छन् ।

५७ सय ९४ जनामा संक्रमण रहेको आशंका छ, उनीहरुलाई निगरानीमा राखिएको चीनका अधिकारीले बताएका छन् ।

चीनले कोरोना भाइरसको संक्रमण रोक्ने प्रयास स्वरुप त्यसको उपचारका लागि तत्काल नयाँ अस्पताल बनाइरहेको छ । १००० शैयाको अस्पताल निर्माण गएको शुक्रबारदेखि सुरु भएको हो । सो अस्पताल ६ दिनमा तयार पार्ने योजना छ ।