आस्था राउतलाई ४ दिन हिरासतमा राखिने

काठमाडौं, १३ माघ । गायिका आस्था राउतलाई अभद्र व्यवहारको कसुरमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले थुनामा राखेर अनुसन्धान प्रक्रिया अगाडि बढाउन आदेश दिएको छ । काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी जीवन आचार्यका अनुसार काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले राउतलाई ४ दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई आदेश दिएका हुन् ।

गायिका राउत सोमबार बिहान आफै महानगरीय प्रहरी परिसर टेकुमा उपस्थित भएपछि उनीविरुद्धको कारबाही प्रक्रिया प्रहरीले अगाडि बढाएको थियो । राउत आफ्ना मामा र सानो बुवाको साथमा परिसर पुगेकी थिइन् ।
परिसर प्रवक्ता डिएसपी होबिन्द्र बोगटीका अनुसार राउतले आफूले गल्ती गरेको स्वीकार गर्दै क्षमायाचना गरेकी थिइन् । ‘उहाँले आफ्नो व्यवहारप्रति पश्चात्ताप गर्नुभएको छ र कानुनको पूर्ण पालना गर्छु भन्नु भएको छ,’ डीएसपी बोगटीले भने, ‘मैले गल्ती गरें माफी चाहन्छु भन्नु भएको छ ।’

प्रहरीले उनीसँग प्रारम्भिक बयान लिएपछि थप कानुनी प्रक्रियाका लागि जिल्ला प्रशासन कार्यालय लगेको थियो । काठमाडौं जिल्ला प्रशासन कार्यालयले गायिका राउतविरुद्ध माघ ५ गते पक्राउ पुर्जी जारी गरेको थियो। मुलुकी अपराध (संहिता) ऐन २०७४ को दफा १ सय १८ अनुसार अभद्र व्यवहार कसूरमा राउतविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो ।

त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलबाट झापा जाने क्रममा राउतले माघ २ गते बिहीबार प्रहरी जवान रमिता श्रेष्ठमाथि अभद्र व्यवहार गरेको उजुरी परेको थियो ।