नयाँ रोगहरु आउने, जाने क्रम चलिरहन्छ

माघ १३, काठमाडौ-उत्तरी छिमेकी चीनबाट फैलिएको ‘कोरोना भाइरस’ले यतिबेला धेरै देशहरुमा त्रास फैलिएको छ । चीनको बुहानबाट सुरु भएर बेइजिङ, मकाउ, ताइवान हुँदै धेरैतिर फैलिएको यो भाइरस अमेरिका, अष्ट्रेलिया, थाइल्यान्ड, दक्षिण कोरियासम्म फैलिएको छ । भाइरस फैलिएपछि विश्वभरकै विमानस्थलमा सावधानी अपनाउन थालिएको छ । नेपालमा पनि कोरोना भाइरसको सन्त्रास फैलिएको छ ।

जनवारबाट सर्ने एक रहस्यमयी कोरोना भाइरसलाई चिन्ता नलिन जनस्वास्थ्य बिज्ञ, डा. रवीन्द्र पाण्डेले आग्रह गरेका छन् । उनले आफ्नो फेसबुक पेजमा कोरोनाका बारेमा लेखेका छन् :–

– यो एक प्रकारको रुघा हो । कोरोना संक्रमण र रुघाखोकीका लक्षण उस्तै हुन्छन् ।
– सर्ने माध्यम पनि रुघा सरेजस्तै हो । खोक्दा, छिउं गर्दा, सास फेर्दा, बिरामीका सामान प्रयोग गर्दा, बिरामीले छोएको ठाउँमा छुँदा, मासु राम्रोसँग नपकाएर खाँदा आदि ।
– यो रोगको सजिलै पत्ता लाग्ने ल्याब टेस्ट छैन । ठूलो प्रयोगशालामा श्वासप्रश्वास नलीको स्वाब पठाउनुपर्छ ।
– यसको कुनै उपचार छैन । ज्वरो, रुघा, खोकी, टाउको दुख्ने आदिको लाक्षणिक उपचार मात्र गर्ने हो । झोलिलो खाना खाएर अलग्गै कोठामा आराम गर्ने हो ।
– यो रोगको खोप छैन ।

– रोग बढेमा निमोनिया, श्वासप्रश्वास फेलर भएर बिरामीको मृत्यु हुन्छ ।
– यो रोग लाग्दैमा मृत्यु हुँदैन । यसको मृत्यु दर २/३ प्रतिशत मात्र छ । बालबालिका, बृद्धबृद्धा, क्यान्सर । एचआईभी, मुटुरोग र मधुमेह लगायतका रोग लागेका व्यक्ति जोखिम समुहमा पर्दछन । त्यस्तै चिकित्सक तथा स्वास्थ्यकर्मी पनि जोखिम समुहमा पर्दछन् ।

– सकभर भिडभाडमा नजाने । जस्तै: अस्पताल, सपिंग मल तथा सिनेमा घर, सार्वजनिक यातायात आदिमा ।
– हामीले आम रुपमा लगाउने मास्क यो रोगमा काम लाग्दैन । N 95 मास्क राम्रोसँग लगाउँदा रोकथाममा उपयोगी हुन्छ ।

– मुख्य कुरा त स्वास्थ्य प्रबर्धन हो । रोगसँग लड्ने क्षमता बढाउने हो भने डर मानुपर्दैन । सागसब्जी, फलफूल, दुध, दाल, गेडागुडी लगायतका स्वस्थकर खाना, नियमित शारीरिक अभ्यास तथा अन्य स्वस्थ जीवनशैली अपनाएमा रोगप्रतिरोधात्मक क्षमता बढ्छ ।

– रोग लागेर मरिन्छ कि भन्ने चिन्ता नगरौं । कोरोनाको बारे धेरै सोंचेर चिन्तित नबनौं । नयाँ रोगहरु आउने, जाने क्रम चलिरहेको छ । साबधानी अपनाउने हो, पेनिक बन्ने हैन ।
– डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य बिज्ञ