ओली र मोदीले ‘आईसीपी’को उद्घाटन गर्ने

माघ ७, काठमाडौं – नेपाल र भारत सरकारको संयुक्त लगानीमा विराटनगरमा निर्मित एकीकृत जाँच केन्द्र (आईसीपी) मंगलबारबाट सञ्चालनमा आउँदैछ । प्रधानमन्त्री केपी ओली र भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्त रूपमा भिडिओ कन्फरेन्स मार्फत यसको उद्घाटन गरेसँगै मंगलबारबाट यो सञ्चालनमा आउने भएको हो ।

डिजिटल (भिडियो कन्फ्रेन्स) मार्फत दुई प्रधानमन्त्रीले स्वीच अन गरेर यसको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । वाणिज्य मन्त्रालयका सह–सचिव नवराज ढकालले दुबै प्रधानमन्त्रीले डिजिटल माध्यमबाट आइसिपीको उद्घाटन गर्ने कार्यक्रम तय भएको जानकारी दिए ।
उद्घाटनपछि निर्माणको जिम्मा लिएको भारत सरकारले आईसीपी नेपाल सरकारलाई मंगलबार नै हस्तान्तरण गर्ने सहसचिव ढकालले बताए । ‘प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंस्थित कन्ट्रोल रुमबाट र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो कार्यालयबाट स्वीच थिचेपछि आइसिपीमा भएको पर्दाको अनावरण हुन्छ’, उनले भने ‘उद्घाटन सम्पन्न भएपछि भारतीय प्रधानमन्त्रीले आइसिपीको हस्तान्तरणको घोषणा गर्नेछन् र नेपालका प्रधानमन्त्रीले त्यसको स्वामित्व ग्रहण गर्नेछन् ।’

नेपाल इन्टरमोडल ट्रान्सपोर्ट डेभलपमेन्ट बोर्डले आइसिपीको स्वामित्व ग्रहण गर्नेछ र यसको सञ्चालनको जिम्मेवारी भन्सार कार्यालयले पाउनेछ । नेपालतर्फको आइसिपीको निर्माण गर्न कुल २ वर्ष ६ महिनाको समय लागेको छ । भारततर्फको आइसिपी ३ वर्ष अगाडि नै सञ्चालनमा आइसकेको छ । सन् २०१७ मा भारतको गुजरातस्थित दिनेशचन्द्र आर अग्रवाल इन्फ्राकन प्रालिले जाँच केन्द्रको निर्माण सुरु गरेको थियो ।

१ सय १४ करोड भारतीय रुपैयाँमा भारत सरकारले सन् २०१७ मार्चमा दिनेशचन्द्र आर अग्रवाल इन्फ्राकन प्रालिसँग निमार्ण सम्झौता गरेको थियो । सन् २०१८ भित्रै यसको निर्माण कार्य सम्पन्न गरिसक्नु सम्झौता भए पनि प्राकृतिक विपद् बाढीका कारण केहीसमय ढिलो भएको बताइएको छ । आइसिपीको सञ्चालनपछि आयात निर्यातमा धेरै सहजीकरण हुने विश्वास गरिएको छ ।