रियल जस्तै रिलको जोडी

काठमाडौं, ६ माघ ।
दीपकराज गिरी र दीपाश्री निरौला चलचित्र क्षेत्रका सेलिब्रेटी जोडी हुन् । रेडियो कार्यक्रम रामबिलाश–धनियाँदेखि बाँधिएको उनीहरूको जोडीलाई हास्य श्रृंखला तीतोसत्यले स्थापित गरायो । उक्त श्रृंखलामा उनीहरू श्रीमान्–श्रीमतीको भूमिकाबाट प्रस्तुत भएका थिए ।

त्यही श्रृंखलाका कारण अधिकांश दर्शकलाई दीपक र दीपा वास्तविक जीवनकै जोडी हुन् भन्ने पर्‍यो । चलचित्र ‘छ एकान छ’ मार्फत उनीहरूको जोडी चलचित्र निर्माण, निर्देशन तथा अभिनयमा समेत सक्रिय रह्यो, जुन पछिल्लो चलचित्र ‘छ माया छपक्कै’सम्म आइपुग्दा समेत उत्तिकै सुमधुर छ ।

दर्शकहरूले उनीहरूलाई वास्तविक जोडी माने पनि उनीहरू वास्तविक जोडी होइनन् । दीपकको आफ्नो घर–संसार छ, दीपाश्री भने सिंगल छिन् । रोचक कुरा चाहिँ के छ भने सामाजिक सञ्जालमा समेत दीपक र दीपाले आफूलाई जोडीकै रूपमा प्रस्तुत गर्दै आइरहेका छन् ।

पछिल्लो समय त दीपक र दीपाले आ–आफ्ना टिकटकमार्फत रोमान्टिक गीतहरूमा जोडीकै रूपमा अभिनय र नृत्य गर्दै आइरहेका छन् । टिकटक भिडियोमा रोमान्टिक शैलीमा प्रस्तुत भइरहने यो जोडीलाई दर्शकहरूले उनीहरूलाई वास्तविक जोडी नै ठान्ने गर्छन् ।