अलमलमा नेकपा – एमसीसी र सभामुखमा जुटेन सहमति

पुस २५, काठमाडौं – सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा प्रमुख मुद्दामा सहमति जुटाउन सकस परिरहेकै बेला बहुमत सचिवालय सदस्यहरूले छुट्टै भेला गरेका छन् ।

नेकपामा सभामुख उम्मेदवार, अमेरिकाको मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौतालगायत मुद्दामा किचलो भए पनि शीर्ष नेताहरूको छुट्टै भेलाले झन् समस्या बढाएको छ ।

नेकपा अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल, सचिवालय सदस्य वामदेव गौतम, सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठ, स्थायी कमिटी सदस्य भीम रावलले छुट्टै भेला गरेका हुन् ।

नेकपा सचिवालयका एक सदस्यका अनुसार सभामुखको उम्मेदवार, एमसीसी सम्झौताबारे अहिले पार्टीले कुनै निर्णय गर्न नसकेको बेला गौतम निवासमा बुधबार भएको छुट्टैै छलफललाई अर्थपूर्ण रूपमा लिइएको छ ।