श्रोत नखुलेको नेपाली चार लाख रुपैया सहित तीन जना पक्राउ

पुष ११, काठमाडौ -वीरगंज महानगरपालिका १६ रजतजयन्ती चोकबाट श्रोत नखुलेको नेपाली नगद ४ लाख रुपैयाँ सहित ३ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा भारत पूर्बी चम्पारण रक्सौल- १० बस्ने ४४ वर्षीय सुशिल कुमार शर्मा र सोही ठाउँ बस्ने सरोजनी कुमारी र वीरगंज महानगरपालिका- १० आदर्शनगरस्थित आकृति कस्मेटिक पसलका संचालक ५४ वर्षीय राज कुमार अग्रवाल रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले भारतबाट वीरगंजतर्फ आउँदै गरेको ना २९ प ८५९५ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार सुशिल र सरोजनीलाई उक्त रकम सहित फेला पारी नियन्त्रणमा लिई सोधपुछ गर्दा उनीहरुले हुण्डी कारोवारका लागि उक्त रकम राज कुमारलाई दिनका लागि ल्याएको बताएपछि राज कुमारलाई समेत प्रहरीले पक्राउ गरेको हो ।