प्रतिनिधिसभाको बैठक सूचना टाँस गरी  पुस १६ गते सम्मका लागि स्थगित

पुष ११, काठमाडौ- प्रतिनिधिसभाको बैठक पुस १६ गते सम्मका लागि स्थगन भएको छ । शुक्रवार दिउँसो १ बजेका लागि निर्धारित बैठक विशेष कारणवश बस्न नसक्ने जनाउँदै सूचना टाँस गरी स्थगन भएको सङ्घीय संसद् सचिवालयद्वारा जारी सूचनामा जनाइएको छ ।

सूचनामा नेपालको संविधानको धारा ९१ को उपधारा ४ बमोजिम प्रतिनिधिसभाको अध्यक्षता गर्ने उपसभामुखले प्रतिनिधिसभा नियमावलीबमोजिम अर्को बैठक निर्धारण भएको जनाइएको छ । संसद् सचिवालयमा कार्यरत एक महिलामाथि यौन दुव्र्यवहारको अभियोग लागेसँगै तत्कालीन सभामुख कृष्णबहादुर महराले गत असोज १५ गते पदबाट राजीनामा दिए पछि सभामुख पद हाल रिक्त छ । सङ्घीय संसद्को हिउँदे अधिवेशन पुस ४ गते प्रारम्भ भएको थियो ।

उपसभामुख डा शिवमाया तुम्बाहाङ्फेले विधेयक अधिवेशनको पहिलो दिनको बैठकको अध्यक्षता गरेकी थिइन। नेपालको संसदीय इतिहासमा उपसभामुखले अध्यक्षता गरेर अधिवेशनको प्रारम्भ गरेको सम्भवतः यो पहिलो घटना हो । अधिवेशनमा यसअघिका २७ विधेयकमाथि कारवाही प्रक्रिया अघि बढाइने सचिवालयले जनाएको छ । सचिवालयमा दर्ता भई वितरण भएका १०, संसदीय समितिमा विचाराधीन १५ र प्रतिनिधिसभाबाट पारित भई राष्ट्रियसभामा पठाइएका दुई विधेयक कारवाहीको प्रक्रियामा छन् ।