१२३ स्थानीय तहका शिक्षकको दरबन्दी मिलान

मंसिर २६ , काठमाडौं – सरकारले १२३ स्थानीय तहका चार हजार ८५२ सामुदायिक विद्यालय शिक्षकको दरबन्दी समायोजन गरेको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले बुधबार पत्रकार सम्मेलन गर्दै देशभरका १२३ स्थानीय तहबाट चार हजार ८५२ दरबन्दी तथा राहत अनुदान कोटामा कार्यरत शिक्षकलाई अन्य स्थानीय तहमा हस्तान्तरण गर्ने गरी मिलान गरिएको जानकारी दिएका छन् ।

उहाँले विद्यालयमा विद्यार्थी र शिक्षकको अनुपात मिलाउनका लागि दरबन्दी समायोजन गरिएको बताउनुभयो । यस्तै १४ जिल्लाको तीन हजार ३५९ शिक्षक दरबन्दी तथा राहत अनुदान कोटा अन्य जिल्लाका स्थानीय तहमा हस्तान्तरण हुनेसमेत उनले बताए ।

मन्त्रालयले १५ जिल्लाभित्र एक स्थानीय तहबाट अर्को स्थानीय तहमा एक हजार ४९३ दरबन्दी तथा राहत अनुदान कोटामा कार्यरत शिक्षकको मिलानसमेत गरेको छ । ति मध्ये एक प्रदेशबाट अर्को प्रदेशको स्थानीय तहमा हस्तान्तरण हुने दरबन्दी तथा राहत अनुदान कोटाको सङ्ख्या १०५ रहेको छ । शिक्षक दरबन्दी मिलान सम्बन्धी सुझाव पेश गर्न गठित पूर्वसचिव महाश्रम शर्माको संयोजकत्वको कार्यदलले दिएको सुझाव अनुसार दरबन्दी समायोजन गरिएको हो ।

हाल देशभर कायम रहेको प्राथमिक तर्फको दरबन्दी ८० हजार १७६, निम्न माध्यमिक तर्फको दरबन्दी १६ हजार २४४, माध्यमिक तर्फको दरबन्दी १२ हजार ७२५ र साविकको उच्च माध्यमिक तर्फको दरबन्दी दुई हजार तथा प्राथमिकतर्फ राहत अनुदान कोटा २१ हजार ८७१, निम्न माध्यमिक तर्फको राहत अनुदान कोटा नौ हजार ६०९, माध्यमिकतर्फ राहत अनुदान कोटा छ हजार ८९८ र साविकको उच्च माध्यमिक तर्फको राहत अनुदान कोटा चार हजार रहेका छन् ।