कर्णालीमा सुत्केरी पोषण कोसेली कार्यक्रम लागू

मंसिर २६, कर्णाली – कर्णाली प्रदेशका स्वास्थ्य संस्थामा प्रसूति हुने महिलाले पोषणबापत रु दुई हजार पाउने भएका छन् ।

कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले मङ्सिर महिनादेखि लागू गरेको ‘सुत्केरी पोषण कोसेली’ कार्यक्रमअन्तर्गत स्वास्थ्य संस्थामा सुत्केरी हुन आउने महिलालाई पोषणबापत रु दुई हजार रकम प्रदान गर्ने व्यवस्था गरेको छ ।

यो व्यवस्थासंगै कर्णाली प्रदेशका स्वास्थ्य संस्थामा प्रसूति हुन आउने महिलाले रु चार हजार ८०० पाउने भएका छन् । यसअघि स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलाले यातायातबापत रु दुई हजार र चार पटक गर्भ जाँच गरेबापत रु ८०० पाउँदै आएको थियो ।

जनस्वास्थ्य कार्यालय सुर्खेतका प्रमुख चेतननिधि वाग्लेका अनुसार पोषणबापत दिइने रु दुई हजार प्रदेश अस्पतालको हकमा भने विपन्न महिलालाई मात्र प्रदान गरिने छ । अन्य स्वास्थ्य संस्थामा भने सबै सुत्केरीलाई प्रदान गरिने छ ।

स्वास्थ्य संस्थामा प्रसूति हुन आउनका लागि प्रोत्साहन स्वरुप यो कार्यक्रम ल्याइएको सामाजिक विकासमन्त्री दल रावलले बताएका छन् । कर्णालीमा रहेका विपन्न गरीब महिलालाई पोषणमा केही राहत होस् भन्नका लागि कार्यक्रम ल्याएका हौँ”,  उनले भने ।

“पोषणभत्ताले गर्दा स्वास्थ्य संस्थामा प्रसूति हुन आउने महिलालाई प्रोत्साहन गर्नेछ र मातृ मृत्यु दरमा कमी गर्न सकिन्छ भन्ने कार्यक्रमको उद्देश्य हो ।”

जनस्वास्थ्य कार्यालय सुर्खेतका प्रमुख वाग्लेले यस कार्यक्रमअन्तर्गत स्थानीय तहका स्वास्थ्य संयोजकमार्फत रकम पठाउने र स्वास्थ्य संस्थालाई प्रदान गरिने बताए ।

रासस