लिपुलेक, कालापानी र लिम्पियाधुरालाई समेटेर तीन दिनभित्र नेपालको नक्सा सार्वजनिक गर्न आग्रह

मंसिर ९, काठमाडौ -नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेपाली भूमी लिपुलेक, कालापानी र लिम्पियाधुरालाई समेटेर तीन दिनभित्र नेपालको नक्सा सार्वजनिक गर्न सरकारसँग आग्रह गरेका छन।

उनले सरकारले नक्सा छापेर सार्वजनिक गर्न सक्दैन भने त्यो कामका लागि काँग्रेस तयार रहेको वताएका छन । नेपाल प्रेस युनियन कास्कीद्वारा सोमवार आयोजित पत्रकार सम्मेलनमा शर्माले प्रधानमन्त्रीले बालुवाटारमा बोलाएको सर्वदलीय बैठकमा पार्टी सभापति शेरबहादुर देउवाले भारतले जारी गरेको विवादित नक्सा सच्याउन तत्काल पहल गर्न भनेको भए पनि सरकार ठोस रूपमा अघि बढ्न नसकेको वताए ।

भारतले प्रधानमन्त्री ओलीको सहमतिमा नक्सा जारी गरेको भनेर काँग्रेस सभापतिले भनेको भनाइलाई शर्माले आशङ्का मात्र व्यक्त गरेको बताए । उनले यस सम्बन्धमा सरकार र नेकपाका नेताले जवाफ दिनुभन्दा भारतसँग छिटो वार्ता गर्नुपर्नेमा जोड दिनु पर्ने वताए।

साथै देशैभरिको उपनिर्वाचनको वातावरण काँग्रेसका पक्षमा भएको दाबी गर्दै उनले कास्की क्षेत्र नं २ मा हुने निर्वाचनमा पार्टीले दुई हजार ४०० भन्दा फराकिलो मतले जित्ने सूचना प्राप्त भएको जानकारी दिए।